काठमाडौँ । थाइल्यान्डका राजा महा वजिरालोङ्कोर्न र रानी सुथिदाले नेपालका बाढी तथा पहिरो प्रभावितका लागि मानवीय राहत सामग्री प्रदान गरेका छन् ।
नेपाल सरकारको प्राथमिकताका आधारमा तयार पारिएको राहत सामग्रीमा टेन्ट, सुत्ने झोला, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), जेनेरेटरलगायत अत्यावश्यक सामग्री छन् । करिब १४ हजार २०० पाउन्ड अर्थात् ६.४४ मेट्रिक टन तौल रहेको उक्त राहत सामग्री थाइल्यान्डबाट नेपाल पठाउन लागिएको हो ।
बैंककस्थित डोन मुआङ विमानस्थलमा शनिबार आयोजित हस्तान्तरण कार्यक्रममा थाइल्यान्डका राजाका तर्फबाट प्रिभी काउन्सिलरले नेपालका लागि थाइल्यान्डका राजदूत धनबहादुर ओलीलाई राहत सामग्री हस्तान्तरण गरे ।
राहत सामग्री सेप्टेम्बर ६ मा विशेष उडानमार्फत बैंककबाट काठमाडौं ल्याइनेछ । त्यसपछि प्रभावित समुदायमा वितरण गरिनेछ ।
हस्तान्तरण कार्यक्रममा राजदूत ओलीले नेपाल सरकार र नेपाली जनताका तर्फबाट थाइल्यान्डका राजा–रानीप्रति सहयोगका लागि आभार व्यक्त गरे । उनले थाइल्यान्डको राजदरबार, सरकार, रोयल थाई एयर फोर्स तथा थाई जनताले विपद्को समयमा गरेको मानवीय सहयोगप्रति पनि धन्यवाद दिए ।
राजदूत ओलीले कठिन परिस्थितिमा प्राप्त सहयोगले नेपाल र थाइल्यान्डबिचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, ऐक्यबद्धता र निकट सम्बन्धलाई प्रतिबिम्बित गरेको बताए । उनले राहत सामग्रीले नेपालको जारी उद्धार तथा राहत प्रयासमा महत्वपूर्ण योगदान पुर्याउने र प्रभावित समुदायलाई तत्काल सहयोग पुग्ने उल्लेख गरे ।




