नुवाकोट । बाढी प्रभावित परिवारलाई सञ्चारमा सहजता प्रदान गर्ने उद्देश्यले सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

विदुर नगरपालिका–८, हात्तीगौडास्थित भैरुम माध्यमिक विद्यालयको विपद् राहत शिविरमा आश्रय लिइरहेका २०० भन्दा बढी बाढी प्रभावितका लागि परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र आवश्यक सूचना आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले सुविसुले निःशुल्क वाइफाइ सेवा उपलब्ध गराएको हो । विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठ र समाजसेवी रमेश श्रेष्ठसँगको समन्वयमा उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।

भैरुम माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठले राहत शिविरमा रहेका प्रभावितलाई सुविसुले उपलब्ध गराएको निःशुल्क वाइफाइ सेवाले परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज भएको बताए । विपद्को समयमा प्रभावित परिवारको सञ्चार आवश्यकतालाई ध्यानमा राखेर गरिएको सहयोग महत्त्वपूर्ण रहेको उनले बताए ।

समाजसेवी रमेश श्रेष्ठले विपद्को समयमा सञ्चार अत्यन्त महत्वपूर्ण हुने भन्दै निःशुल्क इन्टरनेट सेवाले राहत शिविरमा रहेका बाढी प्रभावितलाई आफन्तसँग सम्पर्कमा रहन ठुलो सहयोग पुगेको बताए ।

यसैगरी, विदुर नगरपालिका–५, पिपलटारस्थित चन्द्र ज्योति माध्यमिक विद्यालयमा पनि बाढी प्रभावित परिवार तथा आश्रय लिइरहेका नागरिकको सञ्चार आवश्यकतालाई ध्यानमा राख्दै सुविसुले निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

चन्द्र ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक बासुदेव पंगेनीका अनुसार विद्यालयमा आश्रय लिइरहेका तथा विपद्बाट प्रभावित करिब ३०० देखि ४०० जनालाई निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइएको छ । उक्त सेवाले प्रभावित परिवारलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज भएको उनले बताए ।

विपद्को समयमा सञ्चार सुविधा मात्र नभई आवश्यकताको विषय बन्ने भएकाले प्रभावित समुदायलाई निरन्तर सम्पर्कमा राख्न इन्टरनेट सेवाले महतत्वपूर्ण भूमिका खेल्ने सुविसुले जनाएको छ ।

कठिन परिस्थितिमा समुदायको आवश्यकताअनुसार सहयोग गर्ने उद्देश्यले सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।