भोटेकोशीमा बाढी आएको ११ औं दिनमा शनिबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले चण्डिका श्रेष्ठको उद्धा गर्‍यो । अहिलेसम्म यसरी ट्रयापमा परेका ४ जनाको उद्धार भएको छ । तीन जना सुरुङबाट उद्धार भएको हो ।

बेत्रावतीमा उद्धार गरिएकी महिलालाई सुरक्षाकर्मीले कसरी भेटे ? उद्धार टोलीको नेतृत्व गरिरहेका सशस्त्र प्रहरीका इन्सपेक्टर सुमन विकसँग अनलाइनखबरले गरेको कुराकानी :

आज ११ औं दिनमा एक जना महिलाको उद्धार गर्नुभयो कसरी भएको थियो उद्धार ?

यहाँ आनन्द श्रेष्ठजीको घरमा भेटिएको हो । यो घर तेस्रो दिन आएको बाढीले बगाएर अर्कोतर्फ पुर्‍याएको थियो । चार तलाको घरको तीन तला पुरेको थियो । माथि तलाको आधा भाग मात्र देखिएको थियो । त्यो घरमा हिंड्दै जाँदा आवाज आएको सुनियो । कता कताबाट ‘इकोइङ भ्वाइस’ हो कि, ‘बचाउ बचाउ’ भनेको हो कि, महिलाको जस्तो आवाज सुनियो ।

त्यो सुनेपछि हामीले सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त टिमले माथि आधा देखिएको झ्याल फोडेर हाम्रा उद्धारकर्मीहरू त्यहाँ पसे । त्यहाँ पस्दा उहाँको शरीर आधा हिलोमा दबिएको थियो । थोरै शरीर र टाउको देखिएको अवस्थामा फेला पारेका थियौं ।

तपाईंहरूले कति बजे आवाज सुन्नुभएको थियो ?

एक बजेतिर हो । हामीले सर्चको कारबाही गरिरहेका थियौं । प्रत्येक घर-घरमा हामी कराउँदै हेर्दै पस्दै हिंडिरहेका छौं । लगातार हामीले यो काम गरिरहेका छौं ।

अनि त्यो घरमा छिर्न र उद्धार गर्न कति जति समय लाग्यो ? कति जना खटिनु भएको थियो ?

हाम्रो सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त १० जना कर्मचारी मेरो कमाण्डमा खटेको थियो । अनि नेपाल प्रहरीको इन्स्पेक्टर साहेबको कमाण्डमा पनि टोली थियो । उद्धार गर्न हामीलाई लगभग ४०-४५ मिनेट जति समय लाग्यो ।

त्यो घरमा हिलोमा दबिएको अवस्थामा थियो । त्यो हिलो फाल्दै झ्याल काटेर निकाल्यौं । उहाँलाई त्यसपछि बाहिर निकालेर काठमाडौं पठाएका हौं ।

उहाँको अवस्था कस्तो थियो ? हिंड्नेसक्ने अवस्था थियो ?

उहाँ त हिंड्न सक्ने अवस्थामै हुनुहुन्न रहेछ । हिलोले थिचेको थियो । माथिको शरीर अलिक सुरक्षित भएकाले अलि अलि बोल्नसक्ने अवस्थामा हुनुहुन्थ्यो । बोल्न सक्ने हालतमै हुनुहुन्थ्यो तर अवस्था बिग्रन सक्छ भनेर धेरै बोल्न चाहिँ दिइएन ।

यो भन्दा अगाडि चाहिँ उद्धारका लागि त्यहाँ कोही टिम नै नपुगेको रहेछ है ?

हामी १० दिनदेखि यहाँ वरिपरि नै छौं । हामीले एउटा घरबाट चाहिँ २२ वटा डेड बडी (शव) चाहिँ निकालेका थियौं ।

त्यहाँ उद्धारका कामहरू थप के भइरहेको छ ?

हाम्रो सर्चको कारबाही चाहिँ निरन्तर चलि नै राख्या छ । बिहान, दिउँसो बेलुका सबै समयमा हामी खटिएका छौं ।

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।