काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा बोरुसिया डर्टमुण्डले भिल्लारियलमाथि ३–२ गोल अन्तरको रोमाञ्चक जित निकालेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएका थिए । खेलको ५३ औँ मिनेटमा भिल्लारियलका रेनाटो भेइगाको आत्मघाती गोलमार्फत डर्टमुण्डले १–० को सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ६६ औँ मिनेटमा स्यान्टियागो मौरिनोले गोल गर्दै भिल्लारियललाई १–१ को बराबरीमा ल्याए ।
खेलको अन्तिम समयतिर डर्टमुण्डका सेर्हाउ गुइरासीले उत्कृष्ट प्रदर्शन गरे । उनले ८० औँ मिनेटमा गोल गर्दै डर्टमुण्डलाई २–१ ले अघि बढाए भने ८५ औँ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३–१ पुर्याए ।
निर्धारित समयपछिको इन्जुरी समयमा डर्टमुण्डका गुइरासीबाट आत्मघाती गोल हुन पुग्दा खेल ३–२ को स्थितिमा पुगेको थियो । तर, त्यसपछि थप गोल हुन नसक्दा डर्टमुण्डले ३–२ को रोमाञ्चक जित हासिल गर्यो ।
यस जितसँगै डर्टमुण्ड तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पराजित भिल्लारियल ३१ औँ स्थानमा सीमित भएको छ ।




