काठमाडाैँ । नेकपा एमालेका नेता एवं पूर्वप्रमुख सचेतक महेश बर्तौलाले प्रवासमा रहेका लाखौँ नेपालीका साझा मुद्दाप्रति एमाले बेखबर नरहेको बताएका छन् ।
प्रवासी नेपाली मञ्च युरोप राष्ट्रिय कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै बर्तौलाले गैरआवासीय नेपाली नागरिकता तथा त्यसले सुनिश्चित गरेका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न एमाले प्रतिबद्ध रहेको बताए ।
संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकता र त्यसबाट प्राप्त हुने अधिकार गैरआवासीय नेपालीले पूर्ण रूपमा उपभोग गर्न पाउने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
सरकारमा रहेका बेला यस विषयमा केही ढिलाइ भएको स्वीकार गर्दै बर्तौलाले आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढिरहेका बेला सरकारबाट अनपेक्षित रूपमा बाहिरिनुपर्दा प्रवासी नेपालीका केही अपेक्षा पूरा गर्न बाँकी रहेको बताए ।
‘प्रवासी नेपालीको वास्तविक चाहना र आवश्यकतालाई सम्बोधन गर्ने विषयमा हामी अनभिज्ञ छैनौँ,’ उनले भने, ‘सरकारमा रहँदा त्यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाएका थियौँ । तर सरकारबाट बाहिरिनुपर्दा केही काम पूरा गर्न बाँकी रहे ।’
यसैबीच उनले एमालेभित्र देखिएको विवादलाई ‘चियाकपभित्रको तुफान’ का रूपमा चित्रण गरेर अपव्याख्या नगर्न आग्रह गरे ।
पार्टीभित्रको विवादमा अध्यक्षलाई मात्रै सम्पूर्ण दोष दिएर अन्य पदाधिकारी तथा आफूहरू उम्किन नमिल्ने उनको भनाइ थियो ।
‘पार्टीभित्रको विवादको सम्पूर्ण दोष अध्यक्षमाथि मात्रै थोपरेर हामी अरू उम्किन सक्दैनौँ,’ बर्तौलाले भने ।




