नुवाकोट। बाढीपीडितका लागि माया ममता फाउन्डेसनले नुवाकोटको विदुर नगरपालिका–५ मा करिब ३०० जना विपद् प्रभावित नागरिकलाई राहत सामग्री वितरण गरेको छ। फाउन्डेसनकी सञ्चालक आयुष्मा राणाको नेतृत्वमा सो राहत वितरण गरिएको हो ।
विपद्ले घरआँगन र दैनिकी अस्तव्यस्त बनाएको बेला प्रभावितलाई तत्काल आवश्यक पर्ने खाद्यान्नसँगै सुरक्षित बसाइ, महिला स्वास्थ्य तथा सरसफाइलाई प्राथमिकतामा राखेर राहत सामग्री उपलब्ध गराइएको छ ।
अभियानअन्तर्गत स्लिपिङ ब्याग, खानेपानी, चिउरा, दाल, जुसका साथै महिला तथा किशोरीका लागि सेनिटरी प्याड र सरसफाइ सामग्री वितरण गरिएको फाउन्डेसनले जनाएको छ। संकटको समयमा खाद्यान्न वितरण मात्रै नभई आधारभूत आवश्यकता र संवेदनशीलतालाई समेत ध्यान दिएर राहत पुर्याइएको सञ्चालक राणाले बताइन् ।
विपद्मा परेका नागरिकलाई आफूहरू एक्लो छैनौँ भन्ने भरोसा दिलाउन र उनीहरूको दैनिक जीवन सहज बनाउन यस्ता मानवीय सहायताका कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तरता दिने फाउन्डेसनले प्रतिबद्धता जनाएको छ ।




