काठमाडौँ । रसुवा बाढीको विपत्तिबाट देश गुज्रिरहेको छ । कुनै पनि प्रकोपले जनधनको क्षति मात्र गराउँदैन, सँगै गहिरो मानसिक आघात पनि पुर्‍याउँछ । आँखै अगाडि विपद्को घटना भएको हुन्छ, प्रियजन गुमेका हुन्छन्, बेपत्ता हुन्छन्, कठिन परिस्थतिबाट उद्धार भएर आएका हुन्छन् । यसले मानसिक रूपमा बहुआयामिक असर पार्छ ।

प्राकृतिक विपद्पछि पीडितहरूले भोग्ने डर, चिन्ता, अनिद्रा र शोकको अवस्थालाई कसरी सम्हाल्ने ? स्थानीय स्तरमा मनोसामाजिक परामर्श सेवालाई कसरी प्रभावकारी बनाउने ? जीवनप्रति उत्साह भर्न के गर्ने ? यिनै विषयमा केन्द्रित रहेर मनोचिकित्सक डा. छवि पन्थीसँग गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :

रसुवा बाढी जस्ता प्राकृतिक विपत्ति पीडितहरूमा कस्ता कस्ता मानसिक समस्या देखिन्छन् ?

विपद्ले शारीरिक घाउ मात्र नभई गहिरो मानसिक चोट पनि दिन्छ । विपद् कुनै पूर्वसूचना दिएर आउँदैन । यो अचानक र अकल्पनीय हुन्छ । यस्तो अवस्थामा व्यक्ति वा परिवारले आफ्ना प्रियजन गुमाउनुपर्ने परिस्थिति बन्छ । आफन्त गुमाउँदाको पीडामा मानिसले सुरुमा ‘मैले कसैलाई गुमाएकै छैन’ भन्ने सोच्छ वा अस्वीकार गर्छ । त्यस बखत उसको होस-हवास उडेको हुन्छ र वरपर के भइरहेको छ भन्ने पत्तै हुँदैन ।

जब घटनाको सत्यता महसुस हुन थाल्छ, उसमा रिस उठ्ने, झर्को लाग्ने र दैनिक जीवनयापनको तालमेल नै बिग्रिने हुन्छ । यसपछि मानिस मानसिक रूपमै ‘यति भइदिएको भए हुन्थ्यो होला’ भन्दै आफूसँगै सम्झौता (बार्गेनिङ) गर्न थाल्छ । घटनाका असरहरू स्पष्ट देखिन थालेपछि मानिसमा डिप्रेसनका लक्षणहरू देखिन सक्छन् । अन्ततः समयक्रममा उसले त्यो शोक र यथार्थलाई स्वीकार गर्छ । स्वीकार गरिसकेपछि मात्र मानिस बिस्तारै सामान्य र सहज अवस्थामा फर्किन सक्छ । अन्यथा, विपद्पछिको अप्ठ्यारो परिस्थितिलाई सजिलै स्वीकार्न मानिसलाई निकै समय लाग्छ ।

विपद्मा आफन्त गुमाएका पीडितहरूको मानसिक तनाव व्यवस्थापन गर्न के–कस्ता उपाय अपनाउन सकिन्छ ?

जब कुनै विपद् आउँछ, त्यसपछिको परिस्थितिमा मानिसको प्रतिक्रिया के हुन्छ भन्ने विषय निकै महत्त्वपूर्ण हुन्छ । विपद्पछि मानिसमा सुरुमा शारीरिक र एन्जाइटी (चिन्ता) का लक्षणहरू देखिन थाल्छन् । जस्तै- मुटुको धड्कन तीव्र हुने, डर लाग्ने, आत्तिने, हातखुट्टा काँप्ने, आफू कहाँ छु भन्ने थाहा नहुने र कहिलेकाहीँ बेहोस वा चेतना हराए जस्तो (बेसुरा) हुने हुन्छ । हाम्रो शरीरमा अटोनोमिक नर्भस सिस्टम हुन्छ, जसलाई नियन्त्रण गर्ने सिम्प्याथेटिक र प्यारासिम्प्याथेटिक जस्ता पद्यतिहरू हुन्छन् । सामान्य अवस्थामा मानिसले यी पद्धतिमार्फत वातावरणसँग अनुकूलन गर्छ । तर विपद्को समयमा यी पद्धतिहरूले नियमित रूपमा काम गर्न सक्दैनन् । फलस्वरूप, मानिसले विभिन्न प्रकारका शारीरिक तथा मानसिक समस्या भोग्न थाल्छ । यस्तो अवस्थामा के गर्ने भन्ने कुरा व्यक्तिलाई थाहै हुँदैन । सुरुमा निद्रा नलाग्ने, छटपटी हुने र एन्जाइटीका लक्षणहरू देखिन्छन् । यसलाई ‘एक्युट स्ट्रेस रियाक्सन’ भनिन्छ ।

यो भनेको घटना घटेलगत्तै व्यक्ति वा उसका परिवारका सदस्यहरूमा देखिने शारीरिक र मानसिक लक्षणहरूको अवस्था हो । यसमा देखिने लक्षणहरू एकदमै अनौठा वा अप्रत्याशित हुन सक्छन् । कुनै निश्चित लक्षण मात्र आउँछ भन्ने हुँदैन, जुनसुकै प्रकारका लक्षणहरू पनि देखिन सक्छन् । यस्ता लक्षणहरूमा निद्रा नलाग्नु, रिस उठ्नु, झर्कनु, घर छोडेर हिँड्नु र कहिलेकाहीँ त व्याख्या नै गर्न नसकिने वा अनौठा खालका व्यवहारहरू देखिने हुन्छन् ।

विपद् प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्यकर्मी, मनोपरामर्शदाता र मनोचिकित्सकहरूले पीडितहरूलाई कसरी काउन्सिलिङ गर्न सक्छन् ?

विपद् प्रभावित क्षेत्रका समुदायमा विभिन्न अवस्थाका मानिसहरू हुन्छन् । पहिलेदेखि नै मानसिक समस्या भई औषधि खाइरहेका व्यक्तिहरूको विपद्का कारण औषधि वा परामर्श छुट्ने जोखिम उच्च हुने भएकाले उनीहरूलाई तत्काल स्वास्थ्य सेवाको आवश्यकता पर्छ । विपद्का बेला हरेक व्यक्तिको पीडा सहन सक्ने वा महसुस गर्ने क्षमता (भल्नरेबिलिटी) फरक–फरक हुन्छ । मानिसभित्र गुम्सिएर रहेको पीडा र उकुसमुकुसलाई बाहिर ल्याउन तथा उनीहरूको समस्या पहिचान गरी निदान गर्न स्वास्थ्यकर्मीहरू समुदायस्तरमै पुगेर घरघरमा खटिनुपर्छ ।

हाम्रो देशमा मानसिक स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति नभए पनि उपलब्ध स्रोत–साधनको सही व्यवस्थापन गरेर काम गर्न सकिने आधारहरू छन् । तर हाल सरकारी विपद् व्यवस्थापन संयन्त्रभित्र मानसिक स्वास्थ्य र परामर्श सेवालाई जोड्ने स्पष्ट संरचना (च्यानलिङ) को कमी छ, जसलाई तत्काल व्यवस्थित बनाउनु आवश्यक छ । विपद्पछि मानिसहरूमा अनिद्रा, अत्तालिनु (एन्जाइटी), निराशा (डिप्रेसन), पागलपन वा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर जस्ता विभिन्न मानसिक लक्षणहरू देखिन सक्छन् । यस्ता लक्षण देखिने बित्तिकै उनीहरूलाई सिधै मानसिक रोगीको ठप्पा (लेभलिङ) लगाउनु हुँदैन, किनभने यी प्रतिक्रियाहरू विपद्का कारण सिर्जित तात्कालिक अवस्था पनि हुन सक्छन् ।

मानसिक चोटको प्रभाव सुरुका केही दिन, हप्ता, महिना हुँदै वर्षौँसम्म रहन सक्ने भएकाले विपद्लाई मानसिक स्वास्थ्यबाट अलग राखेर हेर्न मिल्दैन । पूर्ण स्वास्थ्यका लागि शारीरिक, सामाजिक र मानसिक—तीनै पक्ष स्वस्थ हुनुपर्छ । व्यक्तिको भावना, सोच/बौद्धिक क्षमता र व्यवहारमा कुनै विचलन वा समस्या छ कि छैन भनी सही पहिचान र निदान गर्न मनोचिकित्सकहरूको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले विपद् प्रभावित क्षेत्रमा लामो समयसम्म बसेर सेवा दिन मनोचिकित्सक तथा मनोपरामर्शदाताहरूको अति आवश्यक देखिन्छ ।

विपद्पछि उद्धारकर्मी तथा पीडितहरूलाई दिइने मनोवैज्ञानिक प्राथमिक उपचार तथा मनोपरामर्शका उपाय के–के हुन् ?

विपद्को समयमा क्षतिको दायरा निकै फराकिलो हुनसक्छ । यस्तो परिस्थितिमा उद्धारमा खटिने उद्धारकर्ताहरूले घटनालाई प्रत्यक्ष रूपमा नजिकबाट नियालेका हुन्छन् । वीभत्स अवस्थाका मृत शरीरहरू देख्दा उद्धारकर्ता स्वयं डराउने, तर्सिने वा मानसिक रूपमा प्रभावित हुने जोखिम उच्च रहन्छ । त्यसैले विपद्बाट प्रभावित स्थानीय नागरिकलाई मात्र नभएर उद्धार कार्यमा खटिएका सम्पूर्ण जनशक्तिलाई समेत मनोपरामर्श तथा मनोचिकित्साको अत्यन्तै खाँचो हुन्छ । यस्ता संकटको समयमा मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सुरुमा समस्याहरूको सही पहिचान र प्राथमिकीकरण गर्नु आवश्यक हुन्छ, जसले गर्दा कुन समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान गर्ने भन्ने कुरा प्रष्ट हुन्छ । यसरी विपद् व्यवस्थापनको हरेक चरणमा मानसिक स्वास्थ्य र मनोचिकित्साको भूमिका महत्वपूर्ण रूपमा जोडिएर आउँछ ।

वृद्धवृद्धा, गर्भवती, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष मानसिक हेरचाह किन आवश्यक पर्छ ?

गर्भवती, वृद्धवृद्धा, बालबालिका, बौद्धिक अपाङ्गता भएका व्यक्ति, तथा पहिलेदेखि नै मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर) वा क्षयरोग (टिबी) जस्ता दीर्घकालीन रोगको औषधि सेवन गरिरहेका व्यक्तिहरू उच्च जोखिम (भल्नरेबल) मा हुन्छन् ।

विपद्का वेला सामान्य वा स्वस्थ व्यक्तिको तुलनामा यस्ता जोखिममा रहेका व्यक्तिहरूको सहनशीलता वा विपद् सामना गर्ने क्षमता (इन्ड्युरेन्स एबिलिटी) फरक हुने भएकाले असर पनि बढी पर्छ । यद्यपि, विपद्बाट शारीरिक रूपमा स्वस्थ व्यक्तिहरू पनि उत्तिकै प्रभावित भइरहेका हुन्छन्, तर यी विशेष समूहलाई थप हेरचाह र ध्यान दिनु आवश्यक हुन्छ ।

प्रभावितहरूलाई मानसिक हेरचाह कसरी पुर्‍याउन सकिन्छ ?

स्थानीय स्तरमा रहेका सामाजिक कार्यकर्ता, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य सहायक (एचए), नर्स तथा प्राथमिक उपचार गर्ने डाक्टरहरू नागरिकका पहिलो सम्पर्क व्यक्ति हुन् । मनोचिकित्सकहरूको संख्या सीमित हुने र विपद् प्रभावित क्षेत्रमा उनीहरू स्वयं सबै ठाउँमा पुग्न नसक्ने भएकाले यी स्थानीय जनशक्तिलाई मानसिक स्वास्थ्यसम्बन्धी आवश्यक तालिम र ज्ञान दिएर ‘टास्क सेयरिङ’ (कार्य विभाजन) गर्नुपर्छ । यसो गर्दा उनीहरूले मानसिक समस्याका लक्षण पहिचान गरी बिरामीलाई उपचारको पहुँचसम्म पुर्‍याउन र विशेषज्ञसँग जोड्न सक्छन् । त्यसैले वडा तथा गाउँ टोलका आधारभूत स्वास्थ्य संस्थादेखि जिल्ला र प्रादेशिक अस्पतालसम्म एउटा व्यवस्थित सञ्जाल (च्यानलाइज नेटवर्क) बनाएर मानसिक स्वास्थ्य सेवा विस्तार गर्नु नै प्रभावकारी उपाय हो ।

कस्ता लक्षण वा अवस्था देखिएमा प्रभावित व्यक्तिलाई मनोचिकित्सककहाँ वा अस्पताल लैजाने ?

विपद्पछि मानिसमा अनुचित वा अस्वाभाविक भावना (भावनात्मकरूपमा रुने, चिच्याउने, टोलाउने), व्यवहार र सोचमा परिवर्तन देखिएमा विशेषज्ञको परामर्श आवश्यक हुन्छ । यस्तो अवस्थामा मानिसलाई खानामा अरुचि हुने, ओछ्यानमा छटपटी भई निद्रा नलाग्ने, एउटै अप्रिय घटना वा नोक्सानीको सम्झना मात्र मानसपटलमा घुमिरहने र एकै ठाउँमा स्थिर भएर बस्न वा ध्यान केन्द्रित गर्न नसक्ने जस्ता समस्या देखिन्छन् । यसले गर्दा तनाव व्यवस्थापन गर्न नसक्नेदेखि लिएर दीर्घकालीन रूपमा पुरानै घटनाको झझल्को आइरहने र दैनिक जीवनयापन नै प्रभावित हुने स्थिति आउन सक्छ । त्यसैले विपद्को पूर्ण व्यवस्थापनका लागि शारीरिक र सामाजिक पुनःस्थापनाका साथै स्वास्थ्यकर्मी, मनोचिकित्सक र मनोपरामर्शविद्को एकीकृत टोलीमार्फत मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउनु अत्यावश्यक हुन्छ ।

भिडियो : आयुष धामी/रातोपाटी