काठमाडौँ । नेपाल तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । आज भएको आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरबलाई ५ विकेटले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको हो ।
साउदी अरबले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका इसान पाण्डेले ५९ बलमा ४०, देव खनालले ५८ बलमा ३९ र गुलशनकुमार झाले ३५ बलमा अविजित ४४ रन बनाए ।
साउदीका इश्तियाक अहमद र मोहम्मद आतिफले समान २ तथा मोहम्मद हिशाम शेखले १ विकेट लिए ।
त्यसअघि मलेसियाको क्वालालम्पुरमा रहेको बायुमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको साउदीले ४९ ओभर २ बलमा १ सय ९० रनमा अलआउट भयो ।
साउदीका अब्दुल वाहिदले ८९ बलमा ७७ रन, मोहम्मद अब्दुल्ला आतिफले ६८ बलमा ३० र मोहम्मद हिशाम शेखले ५० बलमा २८ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३, ललित राजवंशीले २, शेर मल्ल र गुलशन झाले समान १ विकेट लिए ।
योसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो खेल जितेको छ । नेपाल ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो भने साउदी ४ खेलमा २ अकंसहित चौथो स्थानमा यथावत् छ ।
प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । उपाधि टोलीले सन् २०२७ मा एसिया कपमा सहभागी हुन पाउनेछ ।




