अमेरिकामा तीन सन्तानको हत्या अभियोग खेपिरहेकी लिन्डसे क्लेन्सीको मुद्दामा जुरी (निर्णायक मण्डल) सर्वसम्मत निर्णयमा पुग्न नसकेपछि ‘मिस्ट्रायल’ (सुनुवाइ रद्द) भएको छ। अब मुद्दा पुनः चल्ने सम्भावना छ। तर यो घटना अब केवल एउटा आपराधिक मुद्दा मात्र बनेको छैन, यसले मातृत्व, मनोरोग, अपराध र समाजले ‘आमा’ लाई हेर्ने हजारौँ वर्ष पुरानो दृष्टिकोणमाथि पनि गम्भीर प्रश्न उठाएको छ।
एउटी आमाले आफ्ना सन्तानलाई काखमा लिएर सुताउनु संसारका धेरै संस्कृतिमा सुरक्षाको अन्तिम प्रतीक मानिन्छ। आमालाई पहिलो घर, पहिलो आश्रय र पहिलो संरक्षकका रूपमा कल्पना गरिन्छ।
तर, जब कथा उल्टिन्छ, अर्थात् जब तिनै आमाले आफ्नै सन्तानको हत्या गर्छिन्, तब मानिसले त्यसलाई केवल एउटा अपराधको दृष्टिकोणबाट मात्र हेर्दैन; मातृत्वबारे बनाइएको गहिरो सामाजिक र सांस्कृतिक विश्वास नै चुनौतीमा परेको महसुस गर्छ।
सायद यही कारण अमेरिकाको म्यासाचुसेट्सकी लिन्डसे क्लेन्सीको मुद्दाले यति धेरै ध्यान खिचेको हो।
३६ वर्षीया पूर्व लेबर–डेलिभरी नर्स क्लेन्सीमाथि २४ जनवरी २०२३ मा आफ्ना तीन सन्तान (पाँच वर्षीया कोरा, तीन वर्षीय डसन र आठ महिनाका कलान) को हत्या गरेको अभियोग छ। उनको बचाउ पक्षले मृत्युभन्दा पनि क्लेन्सीले भोगेको मानसिक विचलनलाई केन्द्रमा ल्याएको छ, जसले अर्को गम्भीर प्रश्न खडा गरेको छ: त्यो हो, त्यतिबेला क्लेन्सी गम्भीर ‘पोस्टपार्टम साइकोसिस’ (प्रसूतिपछिको मानसिक विचलन) बाट पीडित थिइन् कि थिइनन् ?
बचाउ पक्षका अनुसार मानसिक अवस्थाका कारण उनले वास्तविकता र आफ्नो कार्यको प्रकृति बुझ्ने क्षमता गुमाएकी थिइन्। तर अभियोजन पक्षको दाबी भने बिल्कुल फरक छ। अभियोजनका अनुसार क्लेन्सीका गतिविधिमा घटनाको योजना, उद्देश्य र आफ्नो कार्यको परिणामबारे चेतनाका प्रस्ट सङ्केत देखिन्छन्।
यही दुई विपरीत व्याख्याबिच जुरी पनि विभाजित भयो। २२ दिन चलेको सुनुवाइपछि जुरीले सात दिनसम्म छलफल गर्दा पनि सर्वसम्मत निर्णय दिन सकेन। अन्ततः न्यायाधीश विलियम सुलिभानले मुद्दामा मिस्ट्रायल घोषणा गरे। अब अभियोजन पक्षले पुनः मुद्दा चलाउने कि कम अभियोगमा सम्झौता गर्ने भन्ने निर्णय गर्नुपर्नेछ। क्लेन्सीलाई भने जमानतबिना नै हाल टेउक्सबरी अस्पतालमा राखिनेछ।
तर, क्लेन्सीको कथा आधुनिक अदालती परिभाषाले मात्र बुझाउन सायदै सक्ला।
करिब २,५०० वर्षअघि नै मानव सभ्यताले आफ्नै सन्तान मार्ने आमाको कथा कल्पना गरिसकेको थियो। ती पात्र थिइन्– मेडिया। ग्रीक मिथककी मेडिया शक्तिशाली र जादुकी ज्ञाता थिइन्। उनी जेसनसँग प्रेममा परेकी थिइन् र उनका लागि आफ्नो परिवार तथा जन्मभूमिसमेत त्यागेकी थिइन्। तर जेसनले उनलाई छाडेर अर्को महिलासँग विवाह गर्न खोजेपछि प्रेम प्रतिशोधमा बदलिन्छ।
यस मिथकलाई युरिपाइडिसले नाटकमा समेत उतारेका छन्। उनको प्रसिद्ध नाटक ‘मेडिया’ मा मेडियाले जेसनकी नयाँ पत्नीको हत्या गर्छिन् र आफ्नै सन्तानलाई समेत मार्छिन्।
मेडियाको कथा केवल ‘खराब आमा’ को कथा होइन। यसमा प्रेम, विश्वासघात, शक्ति, लैङ्गिक असमानता, क्रोध र प्रतिशोध मिसिएको छ। तर यसको सबैभन्दा भयावह पक्ष यही हो कि सुरक्षा र जीवनसँग जोडिएको मातृत्व नै हिंसामा पनि बदलिन सक्छ।
त्यही विरोधाभासले मेडियालाई हजारौँ वर्षपछि पनि मिथक र साहित्यमा जीवन्त राखेको छ।
त्यसो त सन्तानको हत्या गर्नेमा मेडिया एक्ली छैनन्। ग्रीक मिथकमा लामिया पनि आफ्ना सन्तान गुमाएपछि शोक र विनाशसँग जोडिन्छिन्। पछि उनी अरूका बालबालिका मार्ने वा खाने स्त्री–दानवका रूपमा चित्रित भइन्।
त्यसैगरी प्रोक्नेको कथा पनि आफ्नै सन्तानको हत्यासँग जोडिन्छ। उनका पति टेरेउसले उनकी बहिनीमाथि यौन हिंसा गरेको र सत्य लुकाउन खोजेको कथामा प्रोक्नेले अन्ततः सत्य थाहा पाएपछि प्रतिशोधस्वरूप आफ्नै छोरा इटिसको हत्या गर्छिन्।
यी तीन पात्रका कथा फरक छन्, तर उनीहरूमा एउटा साझा भय छ– जीवन दिने व्यक्तिका रूपमा कल्पना गरिएकी आमा नै जीवन समाप्त गर्ने पात्रमा परिणत हुन्छिन्।
त्यसो त अर्को ग्रीक मिथकमा अगाभेले आफ्नै छोरा थेब्सका राजा पेन्थियसलाई मार्छिन्। युरिपाइडिसकै नाटक ‘द बाकस’ मा देवता डायोनिससको प्रभावमा परेर अगाभे उन्मत्त अवस्थामा पुगेको र उनले आफ्नै छोरा पेन्थियसलाई जङ्गली जनावर ठानेर आक्रमण गरी मारेको कथा छ। होसमा फर्किएपछि मात्र अगाभेले आफूले मारेको व्यक्ति आफ्नै छोरा पेन्थियस भएको थाहा पाउँछिन्।
हिन्दु पौराणिक कथाहरूमा पनि सन्तानप्रति आमाको ममता र संरक्षणको परम्परागत छविसँगै, केही यस्ता कथाहरू पनि भेटिन्छन् जहाँ आमाकै हातबाट सन्तानको मृत्यु हुन्छ। यसको एउटा चर्चित उदाहरण देवी गङ्गा र अष्टवसुहरूको कथा हो। ऋषि वशिष्ठको श्रापका कारण आठ वसुहरूलाई पृथ्वीमा मानवका रूपमा जन्म लिनुपर्ने भयो। लामो मानवीय जीवन भोग्न नचाहेका उनीहरूले देवी गङ्गासँग आफूहरूको आमा बन्न र जन्मिनेबित्तिकै मुक्त गरिदिन आग्रह गरे। गङ्गाले उनीहरूको अनुरोध स्वीकार गर्दै राजा शन्तनुसँग विवाह गरिन्, तर आफ्नो कुनै पनि कर्मबारे प्रश्न नगर्न सर्त राखिन्। त्यसपछि जन्मिएका पहिलो सात छोरालाई उनले जन्मिनेबित्तिकै गङ्गामा लगेर डुबाइदिइन्, जसबाट उनीहरू श्रापबाट तत्काल मुक्त भएको मानिन्छ। आठौँ सन्तान जन्मिँदा भने राजा शन्तनुले आफूलाई रोक्न सकेनन् र गङ्गालाई रोक्दै बालकको जीवन बचाए। यही बालक पछि देवव्रत अर्थात् भीष्मका रूपमा प्रसिद्ध भए।
त्यस्तै अर्को कथामा सत्यभामाले आफ्नै पुत्र नरकासुरको वध गरेको उल्लेख छ। नरकासुरले अत्याचार गर्न थालेपछि उसको अन्त्य आफ्नै आमाबाट मात्र हुन सक्ने वरदानका कारण सत्यभामाले उसको वध गरेकी थिइन्। यी कथाहरूले हिन्दु पौराणिक परम्परामा मातृत्वलाई केवल संरक्षण र वात्सल्यसँग मात्र नभई, सन्तानको कर्म, वरदान, श्राप, धर्म र विश्वव्यवस्थासँग जोडिएको जटिल अवधारणाका रूपमा पनि प्रस्तुत गर्छन्।
तर लिन्डसे क्लेन्सीलाई मेडिया, लामिया, प्रोक्ने, अगाभे वा गङ्गाजस्ता मिथकीय पात्रसँग सीधै तुलना गर्नु उचित हुँदैन। क्लेन्सी वास्तविक महिला र वास्तविक आपराधिक मुद्दाकी अभियुक्त हुन्। अनि, क्लेन्सीको मुद्दाको वास्तविक केन्द्र भनेको ‘गम्भीर मानसिक रोगले व्यक्तिको आपराधिक जिम्मेवारीलाई कति हदसम्म बदल्न सक्छ ?’ भन्ने नै हो।
अमेरिकाले यस्तै प्रश्न यसअघि पनि सामना गरिसकेको छ। सन् २००१ मा टेक्सासकी एन्ड्रिया येट्सले आफ्ना पाँच सन्तानको हत्या गरेकी थिइन्। उनको मुद्दामा गम्भीर मानसिक रोग, प्रसवोत्तर मानसिक समस्या र कानुनी रूपमा ‘इन्सानिटी’ (विक्षिप्तता) को प्रश्न केन्द्रमा आयो।
पहिलो परीक्षणमा दोषी ठहरिए पनि पुनः परीक्षणमा उनको मानसिक अवस्थाका कारण उनलाई आपराधिक रूपमा जिम्मेवार नभएको ठहर गरिएको थियो। त्यसपछि उनलाई मानसिक स्वास्थ्य संरक्षणमा राखियो।
क्लेन्सीको मुद्दामा पनि यही कारण येट्सको प्रसङ्ग महत्त्वपूर्ण बनेको छ। दुवै घटनामा आमामाथि आफ्नै सन्तानको हत्या गरेको आरोप छ र दुवैमा प्रसवोत्तर मानसिक स्वास्थ्य तथा आपराधिक जिम्मेवारीको प्रश्न निर्णायक बनेको छ।
क्लेन्सीको मुद्दामा मनोचिकित्सक फिलिप रेसनिकले हत्या भएको समयमा उनी मनोविकृत अवस्थामा रहेको बताएका छन्। रेसनिक येट्सको मुद्दामा पनि विशेषज्ञका रूपमा संलग्न थिए। तर अभियोजन पक्षले क्लेन्सीको मानसिक अवस्थाको अर्को चित्र प्रस्तुत गरेको छ।
‘मनोविकृति’ कि ‘योजना’ ?
यही क्लेन्सी मुद्दाको सबैभन्दा ठुलो कानुनी सङ्घर्ष हो। बचाउ पक्षका अनुसार तेस्रो सन्तान जन्मिएपछि क्लेन्सी गम्भीर मानसिक सङ्कटमा परेकी थिइन्। उनलाई उपचार र औषधि दिइएको थियो र उनको अवस्था क्रमशः बिग्रिएको थियो। बचाउ पक्षले हत्या गर्दा उनले आफूलाई आदेश दिने आवाज सुनेको र वास्तविकताबाट अलग अवस्थामा रहेको दाबी गरेको छ।
अभियोजन पक्षका अनुसार उनले श्रीमान्लाई घरबाट बाहिर पठाएपछि बालबालिकाको हत्या गरेकी थिइन्। यसरी एउटै घटनालाई दुई पक्षले दुई बिल्कुल फरक भाषामा व्याख्या गरेका छन्। र, मुद्दा टुङ्गोमा पुग्न सकेको छैन। अर्थात् बचाउ पक्षले उनलाई मानसिक रूपमा विक्षिप्त आमाका रूपमा उभ्याउँदै छ भने अभियोजन पक्षले आफ्नो कर्मको उद्देश्य र परिणाम बुझेको अभियुक्तका रूपमा।
मुद्दाको अर्को असाधारण पक्ष क्लेन्सीका तत्कालीन पति प्याट्रिक क्लेन्सी हुन्। आफ्ना तीन सन्तान गुमाएका उनले लिन्डसेलाई सार्वजनिक रूपमा ‘राक्षसी’ महिला बनाएका छैनन्। बरु उनको मानसिक स्वास्थ्य सङ्कटलाई स्वीकार गर्दै उनलाई क्षमा गरेको बताएका छन्।
यसले घटनालाई सामान्य अपराधकथाभन्दा जटिल बनाउँछ। पीडितका परिवार र अभियुक्तको परिवारबिचको सम्बन्धसमेत यस मुद्दामा असामान्य रूपमा जोडिएको छ।
क्लेन्सीका समर्थकहरूमध्ये केहीले मुद्दालाई केवल हत्या मुद्दाका रूपमा नभई मातृ मानसिक स्वास्थ्य प्रणालीको असफलताको सम्भावित उदाहरणका रूपमा हेरेका छन्। विशेषगरी आफ्नै प्रसवोत्तर मानसिक स्वास्थ्य समस्यासँग सङ्घर्ष गरेका महिलाहरूले यो मुद्दामा मानसिक स्वास्थ्य उपचार, पहिचान र सहयोग प्रणालीबारे प्रश्न उठाएका छन्।
मिडियाले किन ‘आमा’ लाई अझ फरक ढङ्गले हेर्छ ?
क्लेन्सीको घटनाले अर्को प्रश्न पनि उठाउँछ: मिडियाले यस्ता घटनामा महिलाको अनुहार, सौन्दर्य, पेसा, विवाह र मातृत्वलाई किन यति धेरै जोड दिन्छ ? क्लेन्सी शिक्षित, पेसेवर, विवाहित र तीन सन्तानकी आमा थिइन्। त्यसैले धेरै मानिसको सहज प्रतिक्रिया हुन्छ: ‘यस्तो देखिने महिलाले कसरी यस्तोसम्म गर्न सक्छिन् ?’
तर यही प्रश्नमा सामाजिक पूर्वाग्रह लुकेको हुन सक्छ। सुन्दरता निर्दोषताको प्रमाण होइन। मातृत्व निर्दोषताको प्रमाण होइन। त्यसैगरी मानसिक रोग पनि अपराधको स्वतः क्षमापत्र होइन। कानुनले अन्ततः प्रमाण र मानसिक अवस्थाको कानुनी अर्थ हेर्नुपर्छ। व्यक्तिको रूप, पारिवारिक भूमिका वा समाजले बनाएको ‘असल आमा’ को छविले फैसला गर्नु हुँदैन।
मिस्ट्रायलपछि अब अभियोजन पक्षसँग केही विकल्प छन्। उनलाई पुनः प्रथम श्रेणीको हत्याको मुद्दा चलाइन्छ वा कम अभियोगमा ‘प्लिया डिल’ (दण्ड सम्झौता) को बाटो रोज्न पनि सकिन्छ। दोस्रो ट्रायल (परीक्षण) भएमा प्रमाण, विशेषज्ञ साक्षी र मानसिक स्वास्थ्यसम्बन्धी बहस फेरि अदालतमा आउनेछन्। त्यसो त निर्णायक मण्डलको निष्पक्षता र मुद्दा अर्को स्थानमा सार्ने विषयसमेत उठ्न सक्छ।
अर्थात्, मिस्ट्रायलले यो मुद्दा अन्त्य गरेको छैन, बरु यसलाई अर्को कानुनी चरणमा धकेलेको छ। तर कानुनी फैसला जे भए पनि क्लेन्सीको कथा एउटा गहिरो सामाजिक प्रश्न छाडेर जानेछ।
हजारौँ वर्षअघि मानिसले आफ्नै सन्तानको हत्या गर्ने आमाको कथा बुझाउन मिथक सिर्जना गर्यो। ती घटनाका पछि निश्चित कारण थिए। आधुनिक समाजमा पनि यस्ता घटना आक्कलझुक्कल घटिरहेका छन् अनि तिनको जड कारण अहिले हामी मिथकमा होइन; मनोचिकित्सा, न्युरोसाइन्स र अदालतमा खोजिरहेका छौँ। अनि खास प्रश्न एउटै छ: के एउटी आमा आफ्ना सन्तानलाई माया गर्दैगर्दै पनि मानसिक रूपमा यस्तो विक्षिप्त अवस्थामा पुग्न सक्छिन्, जहाँ उनी आफैँ आफ्ना सन्तानका लागि खतरा बन्न पुग्छिन् ? मानव सभ्यताले यो प्रश्न हजारौँ वर्षदेखि सोधिरहेको छ। फरक यति हो– पहिले यसको उत्तर मिथकमा खोजिन्थ्यो, आज प्रमाण, विज्ञान र कानुनमा खोजिँदै छ।




