काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत नेपाली समय अनुसार बुधबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एफसी पोर्टोमाथि २–० गोल अन्तरको सहज जित दर्ता गरेको छ ।
म्यानचेस्टर सिटीको जितमा दुवै गोल स्टार स्ट्राइकर अर्लिङ हालाण्डले गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ सुरु हुनासाथ ४७ औँ मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि निर्धारित समयको इन्जुरी समयमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै म्यानचेस्टर सिटीको जित २–० ले सुनिश्चित गरे । खेलभर पोर्टोले कुनै गोल फर्काउन सकेन ।
यस जितसँगै म्यानचेस्टर सिटी तालिकाको शीर्ष (पहिलो) स्थानमा पुगेको छ भने पराजित पोर्टो तालिकाको ३६ औँ स्थानमा सीमित भएको छ ।




