रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

नेपाली नागरिक क्यासिनोमा प्रवेश गरी जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा आज साँझ प्रहरी टोलीले क्यासिनोमा जाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकामा म्याग्दीका नारायण घर्ती, कास्कीका रोशन केसी र सुदीप आचार्य, रुपन्देहीका रामु श्रेष्ठ र चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । त्यस्तै, क्यासिनोका पिट म्यानेजर भारत हरियाणाका पारस भाटियालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले क्यासिनोमा नेपाली नागरिकले जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी आवश्यक जाँच तथा कारबाही अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा, रुपन्देही पठाइएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले क्यासिनो तथा अन्य क्षेत्रमा प्रचलित कानुनविपरीत हुने जुवा तथा गैरकानुनी गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको छ ।

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।