काठमाडौँ । थाइल्याण्डबाट हुलाकमार्फत नेपाल भित्र्याइएको १ किलो ९१० ग्राम गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय डिल्लीबजारबाट खटिएको प्रहरी टोलीले भदौ ९ गते थाइल्याण्डबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै इटहरी पठाइएको पार्सलमा शङ्का लागेर चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उक्त पार्सलबाट ९१० ग्राम थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पार्सल रिसिभ गर्ने व्यक्तिसम्म पुग्न प्रहरीले ‘कन्ट्रोल डेलिभरी’ विधि अपनाएको थियो । सोही क्रममा भदौ १६ गते पार्सल बुझेर लैजाँदै गरेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–२० की १९ वर्षीया जेसिका तामाङ र धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ की २५ वर्षीया तारा मगर रहेका छन् ।
उनीहरूको धरान उपमहानगरपालिका–१५, मिलनपथस्थित डेरामा खानतलासी गर्दा थप १ किलो थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका क्रममा उक्त गाँजा लिन आएका दुई भारतीय नागरिकलाई समेत प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई भदौ १९ गते धरान–८ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्ने भारतीय नागरिकमा भारतको केरल, कन्नोरका २४ वर्षीय सारोन सुनिल तिया र आलपुरका २२ वर्षीय अमल आर रहेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट १ किलो ९१० ग्राम थाई गाँजा र चार थान मोबाइल फोन बरामद भएको छ ।
पक्राउ परेका चारै जनामाथि इलाका प्रहरी कार्यालय धरान र लागूऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।




