काठमाडौँ । रसुवाको टिमुरे क्षेत्रमा गएको भदौ १० गते आएको विनाशकारी बाढीपछि धेरै परिवारका लागि समय रोकिएजस्तो भएको छ । आफन्त सम्पर्कविहीन छन्, तर उनीहरू जीवित छन् कि छैनन् भन्ने यकिन जानकारी परिवारले पाउन सकेका छैनन् ।

यस्तै अनिश्चितता बोकेर सिन्धुपाल्चोकको बलेफी–४ की लक्ष्मी राई काठमाडौँका अस्पताल चहारिरहेकी छन् । उनी आफ्नो श्रीमान् आङ थोङ तामाङ खोज्दै अस्पताल पुगेकी हुन् । आङ थोङ सीमावर्ती क्षेत्रमा सामान ओसारपसार गर्ने ‘सिनो’ कन्टेनर ट्रक चलाउँथे । बाढी आएको दिन उनी पनि घटनास्थल आसपासमै थिए । त्यसयता उनको अवस्था अज्ञात छ ।

‘चारैतिर खोजिसक्यौँ, अब अन्तिम विकल्प अस्पताल–अस्पताल चहार्ने भएको छ,’ लक्ष्मी भन्छिन्, ‘कतै केही सुराक भेटिन्छ कि भनेर आएका हौँ ।’ लक्ष्मीको यो वाक्यभित्र एक परिवारको आशा र बढ्दो बेचैनी लुकेको छ ।

११ ट्रकमध्ये केही जोगिए, बिच बाटोमा थिए लक्ष्मीका श्रीमान्

लक्ष्मीका अनुसार उनीहरू आबद्ध ‘सिनो’का ११ वटा कन्टेनर ट्रकको समूह थियो । बाढीको जोखिम बढेपछि बजार क्षेत्रमा तल रहेका दुई–तीनवटा ट्रकका चालकले समयमै सतर्कता पाए र सुरक्षित स्थानतर्फ जान सके । तर, आङ थोङ भने त्यसभन्दा माथिल्लो क्षेत्रमा थिए । उनी न त चिनियाँ नाका पुगिसकेका थिए, न त तलको बजार क्षेत्रमा नै थिए ।

उनी बिचको सडकखण्डमा रहेको लक्ष्मी बताउँछन् । त्यही बिचको सडकखण्ड अहिले उनको परिवारका लागि सबैभन्दा ठुलो खोजीको क्षेत्र बनेको छ । बाढी र पहिरोले सडकको स्वरूप नै परिवर्तन गरिदिएको छ । कतै सडक बगेको छ, कतै पहाड खसेको छ । कतै मानिस वा गाडी पुरिएको हुन सक्ने आशंका छ । त्यसैले लक्ष्मीको परिवारले एउटा मात्रै माध्यममा भर परेको छैन ।