काठमाडौँ । नेपाली कांग्रेसभित्रको विवाद मिलाउने प्रयासमा नेताहरू लागेका छन् ।
गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि सुरु विवादको समाधान गर्ने अन्तिम प्रयासमा नेताहरू लागेका हुन् ।
विवाद मिलाउनकै लागि केन्द्रीय निर्वाचन समितिले तय गरेको भदौ २४ गतेको वडा अधिवेशन सार्ने तयारी भएको छ । ‘विवाद मिलाएर अगाडि बढ्नका लागि केही दिन वडा अधिवेशन सार्ने विषयमा कुराकानी भइरहेको छ,’ एक पदाधिकारीले रातोपाटीसँग भने, ‘सम्भवतः असोज २ गतेसम्म सर्छ होला ।’
अनौपचारिक कुराकानी गर्न भन्दै शनिबारका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक पनि एक दिनका लागि सारिएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शुक्रबार विज्ञप्ति जारी गर्दै शनिबार दिनको १ बजेका लागि बोलाइएको कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएका छन् ।
पार्टीभित्र देखिएको विवाद मिलाउनका लागि सभापति गगन थापाले इतर समूहका नेताहरू निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग अनौपचारिक रूपमा कुराकानी गरिरहेका छन् ।
सभापति थापाले डा. शेखरपक्षीय नेताहरू जीवन परियार, बद्री पाण्डे र डा. गोविन्द पोखरेलमार्फत कुराकानी गरिरहेका छन् । उनीहरूमार्फत भएको कुराकानी सकारात्मक देखिएकाले सभापति थापा र नेता डा. कोइरालाबिच शनिबार साँझ वा आइतबार बिहान भेटेर कुराकानी गर्ने तयारी छ ।
डा. कोइरालाले पार्टी एकताका लागि राखेका ५ बुँदा कार्यान्वयनका लागि सभापति थापासहित संस्थापन सकारात्मक देखिएपछि कुरा मिल्ने सम्भावना देखिएको नेताहरू बताउँछन् ।
नेता डा. कोइरालाले पार्टीमा एकता कायम राख्नका लागि भन्दै १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४ औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औँ महाधिवेशन गर्ने, १४ औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने,
कार्यसम्पादनमा सभापतिको बहुमत हुने गरी गठन गर्ने, निर्वाचन समिति, क्रियाशील छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरू आपसी सहमतिबाट मात्रै बनाउने प्रस्ताव राखेका थिए । त्यो प्रस्तावका अधिकांश विषयमा नेताहरू सकारात्मक रहेको स्रोत बताउँछ ।
यता निवर्तमान कार्यवाहक सभापति खड्कासँग पनि सभापति थापाले अनौपचारिक कुराकानी गरिरहेका छन् । खड्कासँग उनी निकट पार्टीका बागमती प्रदेश सभापति इन्द्र बानियाँसहितका नेताहरू मार्फत कुराकानी गरिरहेका छन् ।
पार्टीलाई एकताबद्ध राख्नका लागि प्रयास गर्ने भन्दै नेताहरू खड्का र डा. कोइराला संस्थापन इतर समूहको बुधबार र बिहीबार बसेको बैठकमा सहभागी भएनन् । समूहको त्यो बैठकले समानान्तर महाधिवेशन गर्ने भन्दै छुट्टै कार्यतालिका सार्वजनिक गरेको छ । समूहको त्यो बैठकमा निवर्तमान सभापति शेरबहादुर देउवा पनि सहभागी थिएनन् ।
संस्थापनले क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणको कामका लागि भन्दै यही भदौ १६ देखि १९ गतेसम्मको समय दिएको थियो । त्यो समय आज सकिँदैछ । क्रियाशील सदस्यता अद्यावधिक नगरेका इतर समूहका नेता कार्यकर्ताका लागि भन्दै समय थपिएको थियो ।
तर, इतर समूहका नेता कार्यकर्ताले कुनै सहमति नबनेको भन्दै अद्यावधिक गरेनन् । त्यसपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठकले समय नथपे पनि केही सहमति हुन्छ कि भनेर पर्खिरहेको छ ।
समितिका एक सदस्यका अनुसार अरू सबै सदस्यताको सूची तयार गर्ने तर फाइल बन्द नगर्ने रणनीति समितिले लिएको छ । त्यही भएर नै क्रियाशील सदस्यको सङ्ख्या यति भयो भन्ने निर्णय अहिलेसम्म समितिले गरिसकेको छैन । फाइल खुला राख्ने र जहाँका नेता र कार्यकर्ताले अद्यावधिक गर्छन्, उनीहरूको नाम त्यही जिल्ला, निर्वाचन क्षेत्र र पालिका र वडाको फाइलमा थपेर पठाउने तयारीमा समिति छ ।
सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटघाट गर्न भन्दै समय मागेका थिए । तर, अहिलेसम्म देउवाको सचिवालयले सभापति थापालाई भेट्नका लागि समय उपलब्ध गराएको छैन । पहिला नेता डा. कोइराला र खड्कासँग अनौपचारिक सहमति भएपछि देउवासँग भेटेर मनाउने प्रयास गर्ने रणनीतिमा सभापति थापा रहेको उनीनिकट स्रोत बताउँछ । देउवा निकट स्रोतका अनुसार देउवा आफूले सर्वोच्च अदालतमा दायर गरेको पुनरवलोकनको रिटमा अनुमति प्राप्त भएको र त्यो रिटमा फैसला भएपछि मात्रै कुराकानी गर्ने तयारीमा छन् ।
स्रोतका अनुसार देउवा समूहमा पनि नेताहरू डा. शशाङ्क कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहबाहेक मिलेर जानुपर्ने पक्षमा देखिन्छन् ।
रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।




