काठमाडौँ । रसुवा, नुवाकोट र धादिङ जिल्लाका भोटेकोशी तथा त्रिशुली नदी किनारका क्षेत्रहरूमा आएको भीषण बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार पहिचान भएका शवहरू सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकिए पनि शिक्षण अस्पतालको मर्चरीमा रहेका अधिकांश शवहरू क्षत विक्षत, अङ्गभङ्ग भएको र कुहिँदै गएको अवस्थामा छन् ।

अस्पतालमा थप शवहरू आउने क्रम जारी रहेको, शव राख्ने स्थानको अभाव भएको र समयमै उचित व्यवस्थापन नभए दुर्गन्ध तथा महामारी फैलन सक्ने उच्च जोखिम सिर्जना भएकाले शव व्यवस्थापन प्रक्रिया अघि बढाइएको हो ।

​जिल्ला सुरक्षा समिति काठमाडौँको भदौ १५ गतेको निर्णयअनुसार हालसम्म पहिचान हुन नसकेका ८५ वटा शवलाई पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ (संशोधन २०८३ सहित) को प्रावधान बमोजिम अस्थायी रूपमा सुरक्षित तरिकाले व्यवस्थापन गरिएको छ ।

शव व्यवस्थापन गर्दा प्रत्येकको फोटो, डिएनए परीक्षणका लागि अङ्गको नमुना र 'बडी ट्यागु लगाई राष्ट्रिय मानव अधिकार आयोग, नेपाल रेडक्रस सोसाइटी र आईसीआरसीको रोहवरमा अन्तर्राष्ट्रिय प्रोटोकल पालन गरिएको छ ।

वैज्ञानिक परीक्षणबाट पहिचान खुलेपछि शव वा अवशेषलाई अन्तिम संस्कारका लागि सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने प्रशासनले जनाएको छ ।