धनगढी। दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा शुक्रबार दिउँसो खसेको ठुलो पहिरोले चमेलिया नदी करिब आधा घण्टा पूर्ण रूपमा थुनिएपछि स्थानीयमा त्रास फैलिएको छ। पहिरो निरन्तर झरिरहेकाले नदी फेरि थुनिन सक्ने जोखिम कायमै रहेको गाउँपालिकाले जनाएको छ।
अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार पहिरो शुक्रबार बिहानैदेखि स–साना रूपमा झरिरहेको थियो। दिउँसो भने, करिब १ बजेतिर ठुलो पहिरो खसेपछि चमेलिया नदी नै थुनिएको हो।
‘पहिरो त बिहानदेखि नै अलि–अलि आइरहेको थियो। ठुलो पहिरो दिउँसो १ बजेतिर आयो,‘त्यो पहिरोले भट्टारको तल्लो क्षेत्रमा चमेलिया नदीलाई करिब आधा घण्टा पूर्ण रूपमा थुन्यो।’अध्यक्ष बोहराले भने।
अहिले नदीले पहिरो काट्दै बिस्तारै आफ्नो बाटो बनाएको छ। नदी आंशिक रूपमा बगिरहेको भए पनि पहिरो झर्ने क्रम रोकिएको छैन। त्यसैले फेरि नदी थुनिन सक्ने जोखिम रहेको अध्यक्ष बोहराले बताए।
‘अहिले नदीले बिस्तारै कटान गर्दै आफ्नो बाटो बनाएको छ र आंशिक रूपमा बगिरहेको छ,’ उनले भने, ‘तर पहिरो निरन्तर झरिरहेको हुनाले फेरि पनि नदी थुनिन सक्ने जोखिम कायमै छ।’
अध्यक्ष बोहराका अनुसार पहिरो सामान्य खालको छैन। पूरै डाँडो नै खसेको जस्तो देखिने गरी ठुलो पहिरो गएको छ।
पहिरोले भट्टार क्षेत्रमा करिब ५ सय मिटरभन्दा बढी पदमार्ग तथा सिँढीमा क्षति पुर्याएकाे छ। स्थानीयका खेतबारीसमेत बगेका छन् भने एउटा सामुदायिक भवनमा आंशिक क्षति पुगेको छ।
पहिरोका कारण भट्टार बस्ती नै जोखिममा परेपछि गाउँपालिकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ। भट्टारका बासिन्दालाई नजिकैको गुरसार क्षेत्रमा स्थानान्तरण गरिएको अध्यक्ष बोहराले बताए। गुरसार शिती र स्वास्थ्य चौकीको बीचमा पर्ने बस्ती हो।
‘मुख्य जोखिम त भट्टार बस्ती नै हो,’ उनले भने, ‘त्यसैले हामीले भट्टार बस्तीका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिसकेका छौँ।’ चमेलिया नदी फेरि थुनिएर एकैपटक फुटेमा भट्टारमा मात्रै नभई तल्लो तटीय क्षेत्रमा समेत ठुलो क्षति हुन सक्ने गाउँपालिकाको आकलन छ।
नदी थुनिएर फुटेमा अपिहिमाल गाउँपालिका–३ का तापलधारी, मकरीगाड, चमेलिया जलविद्युत आयोजनाको ड्याम साइड, ओखल र मार्मा क्षेत्रका गाउँबस्ती प्रभावित हुन सक्ने अध्यक्ष बोहराले बताए।
‘यदि नदी फेरि थुनिएर फुट्यो भने तल्लो तटीय क्षेत्रका वडा नं. ३ को तापलधारी, मकरीगाड, चमेलिया जलविद्युतको ड्याम साइड, ओखल र मार्मा क्षेत्रका गाउँबस्तीमा ठुलो क्षति हुन सक्छ,’ उनले भने।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै जलविद्युत आयोजना र आसपासका बस्तीलाई समेत सतर्क गराइएको छ। ड्याम साइडका कर्मचारी तथा मकरीगाडका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको छ।
मार्मा क्षेत्रमा रहेका तीन–चार वटा जलविद्युत आयोजनाका कर्मचारीलाई समेत शुक्रबार राति सुरक्षित ठाउँमा बस्न निर्देशन दिइएको अध्यक्ष बोहराले बताए। उनका अनुसार धेरैजसो कर्मचारी सुरक्षित स्थानमा गइसकेका छन्।
भट्टार क्षेत्रमा यसअघि पनि पहिरो आएको स्थानीय तहको भनाइ छ। अहिलेको पहिरो विगतको भन्दा निकै ठुलो र जोखिमपूर्ण रहेको अध्यक्ष बोहरा बताउँछन्।
‘तीन–चार वर्षअघि पनि यहाँ पहिरो आएको थियो,’ उनले भने, ‘तर त्यसबेलाको जोखिम अहिलेको तुलनामा कम थियो। अहिले भने पूरै डाँडो नै खसेको हुनाले अवस्था निकै डरलाग्दो र जोखिमपूर्ण छ।’
चमेलिया नदीको बहाव रोक्ने गरी आएको ठुलो पहिरो र निरन्तर झरिरहेको पहिरोका कारण अपिहिमालमा शुक्रबार रातिसम्म त्रास कायमै छ।
गाउँपालिकाले जोखिममा रहेका बस्ती र जलविद्युत आयोजनालाई उच्च सतर्कतामा राखेको छ भने नदीको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ।




