जलेश्वर (पिपरा) । गत भदौ १० गते रसुवाको भोटकोशी नदीमा आएको बाढीसँगै श्रीमान् बेपत्ता भएपछि महोत्तरी, पिपरा गाउँपालिका–३ निवासी इन्दिरा यादव छिनछिनमा टोलाउने, बर्बराउने गर्न थालेकी छन् ।
इन्दिराका श्रीमान् विकास कुमार यादव भोटेकोशी बाढीमा परेर रसुवाबाट बेपत्ता भएका हुन् ।
६ महिनाकी गर्भवती इन्दिराको काखमा २ वर्षीय छोरी छिन् । छोरीले बुवाको महत्त्व राम्रोसँग बुझ्नसमेत पाएकी छैनन् भने गर्भमा रहेको शिशुले बुवा देख्न पाउने हो कि होइन भन्ने चिन्ताले इन्दिरालाई सताइरहेको छ ।
बर्बराउने क्रममा उनी बेलाबेला आफैँसँग प्रश्न सोध्छिन्, ‘मेरो गर्भमा रहेको बच्चाले पिता देख्न पाउला ?’
विकासका बुवा बुवा शम्भुनाथ, आमा बिनादेवी र भाइ सुभाषको आँखा पनि ओभाउन सकेको छैन । घरमा कोही आउँदा पनि छोराकै खबर लिएर आए कि भन्ने आशमा हुन्छन् उनीहरू ।
भदौ १० गते बाढी आएको दिन इन्दिरा पनि रसुवामै श्रीमान् विकास कुमारसँगै थिइन् । उनीहरूले दुई वर्षीय छोरी विभांसीलाई पनि रसुवा नै लगेका थिए ।
त्रिशुली थ्री ए जलविद्युत् आयोजनामा सिभिल इन्जिनियर पदमा कार्यरत विकास कुमार रसुवामै कार्यालयले उपलब्ध गराएको क्वाटरमा बस्दै आएका थिए । बस्ने सुविधा भएकै कारण उनले पत्नी र छोरीलाई पनि सँगै लगेका थिए ।
१० गते बिहान साढे ६ बजेतिर विकास कुमार ड्युटीमा निस्किए । कोठाबाट निस्किनु अघि उनले इन्दिरालाई उठाउँदै आफू कार्यालय जान लागेकाले ढोका लगाएर सुत्न भनेका थिए ।
‘त्यसपछि म उठेर छोरीलाई दुध खुवाउँदै निदाएँ । बिहान साढे ७ बजेर उठेर घरको नियमित कामकाज सुरु गरेँ,’ इन्दिराले त्यो दिनको विवरण सुनाउँदै भनिन्, ‘श्रीमानको कार्यालय र क्वाटर १० मिनेटको दुरीमा छ । क्वाटरको बाहिर रहेका गार्ड दाइले ९ बजेतिर माथिबाट ठुलो बाढी आइरहेकाले तपाईंहरू अलि माथिल्लो डाँडामा जानुस् भनेपछि म छोरीलाई काखी च्याप्दै बाहिर निस्किएँ ।’
इन्दिराका अनुसार गर्भावस्थाका बाबजुद हस्याङफस्याङ गर्दै उनी डाँडामा पुगिन् । त्यसपछि पतिलाई फोन गर्दा सम्पर्क हुन नसकेको उनले सुनाइन् ।
‘बिहान ९ बजेर २० मिनेटसम्म उहाँ अनलाइन नै देखिनुभएको थियो, त्यसको २/३ मिनेटपछि फोन गरेँ, तर सम्पर्क हुन सकेन,’ इन्दिराले भनिन् ।
आयोजनाको सुरुङभित्र काम गर्ने स्थानमा त्यसअघि आफू पनि पुगेको बताउँदै उनले भित्र दुई/तीन तला रहेको सुनाइन् । ‘त्यही भएर उहाँ सुरक्षित नै हुनुहोला भन्ने अपेक्षा थियो,’ उनले भनिन्, ‘साँझसम्म कुरेँ तर उहाँ आउनुभएन । त्यसपछि साँझ म आफैँ तल पुगेर हेरेँ, केही अत्तोपत्तो लागेन ।’
इन्दिराका अनुसार उनी र उनकी छोरीलाई नेपाली सेनाले काठमाडौँसम्म उद्धार गरी ल्याएको थियो । क्याम्पमा दुई दिन बसेर दाइको सहयोगमा घर आएको उनले सुनाइन् ।
बाढीले ठुलो जनधनको क्षति गरेको भनेर सरकारले सुरुमै थाहा पाए पनि उद्धारका लागि त्यस अनुसारको पहलकदमी लिन नसकेको इन्दिराको गुनासो छ । ‘सरकारलाई थाहा थियो– घटना भयावह छ । सुरुङभित्र फसेको मान्छे उद्धार गर्ने प्रविधि नेपालमा छैन भन्ने पनि सरकारलाई राम्रोसँग थाहा थियो,’ उनले भनिन्, ‘यसका बाबजुद विदेशसँग सहयोग माग्न किन ढिला गरेको ? विदेशी निकायले विज्ञहरूको टोली पठाएर सहयोग गर्न तयार छु भन्दा उद्धारमा आउनबाट उनीहरूलाई किन रोकेको ?’
सरकारले त्यतिबेला सही निर्णय गर्न नसक्दाको परिणाम अहिले आफूहरूले भोग्नु परिरहेको इन्दिरा बताउँछिन् । अहिलेसम्म श्रीमानको अवस्था पत्ता नलाग्दा निराशा र चिन्ता बढ्दै गएको उनको भनाइ छ ।
‘आज यतिका दिन भइसक्यो, केही अत्तोपत्तो छैन,’ इन्दिराले भनिन्, ‘तैपनि भगवानसँग प्रार्थना छ– मेरा सिन्दूर नपुछियोस्, संसार हेर्न नपाएको एउटा अबोध बच्चा पेटमा हुर्किँदै छ भने अर्को बच्चाले बाबा भनेर बोलाउने दिनसम्म आएको छैन । यस्तो अवस्थामा भगवानले मसँग यति निर्मम परीक्षा लिन सक्नुहुन्छ त ?’
घटना भए यता उनको घरमा छरछिमेक, इष्टमित्रदेखि पत्रकारहरूको आवतजावन निकै बाक्लिएको छ । छिमेकीहरू आएर ‘विकासलाई केही हुँदैन, छिटै फर्केर आउँछ’ भनेर सान्त्वना दिएर जान्छन् ।
विकासका भाइ सुभाषले भने, ‘घटना भएको १२ दिन बितिसक्यो । तीन तहका सरकार छन् तर कुनै पनि सरकारले हामीलाई सान्त्वनासमेत दिएका छैनन् ।’
तुलनात्मक रूपमा संघ सरकारले राहत तथा उद्धारका लागि काम गरिरहे पनि प्रदेश सरकार स्थानीय सरकारले पीडित परिवारलाई सान्त्वनासमेत दिन नआएकोमा सुभाषले गुनासो गरे । ‘घर–आँगनकै सरकार भन्थे, तर हामीलाई पीडा परेको बेला काम नलाग्ने रहेछन्,’ उनले भने ।
विकासका बुवा शम्भुनाथ अवकाशप्राप्त शिक्षक हुन् । उनलाई आइतबार जिल्ला प्रशासन कार्यालयले बोलाएर डीएनए परीक्षणको स्याम्पल लिएको छ । ८ वर्ष अघि अवकाश पाएका उनले अहिले घरमै ३ वटा गाई, आधा दर्जन बाख्रा, हाँस लगायत पालेर जीविकोपार्जन गरिरहेका छन् ।
शम्भुनाथले बेपत्ता छोरा सम्झिँदै भने, ‘पढाइमा निकै अब्बल थियो । ऊ कहिल्यै पनि दोस्रो स्थानमा झरेन, सधैँ फस्ट हुन्थ्यो । अहिले त आफ्नो घरको मुख्य पिलर नै ढलेको जस्तो भएको छ ।’
सुरुङभित्र छ, सुरक्षित छ भन्ने नेपाल सरकारको सोचका कारण उद्धारमा समयमै ध्यान नदिँदा अहिलेसम्म छोराको अवस्था अज्ञात रहेको गुनासो उनले गरे । आमा बिनादेवीको १ महिना अघिमात्रै पाठेघर र हर्नियाको शल्यक्रिया भएको थियो । छोरा बाढीमा बेपत्ता भएसँगै वियोगमा उनी जो आए पनि ‘मेरो छोरालाई ल्याइदेऊ भन्दै बर्बराउँछिन् ।
भोटेकोशीमा आएको त्रासदीपूर्ण बाढीमा मधेस प्रदेशका १७८ जना सम्पर्कविहीन छन् भने ३ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार सोही घटनामा परेर बेपत्ता भएकामध्ये पर्साबाट २, बाराबाट २, रौतहटबाट ५, सर्लाहीबाट ३, महोत्तरीबाट ७, धनुषाबाट ७, सप्तरीमा २ जना सम्पर्कमा आए पनि अन्यको अवस्था हालसम्म अज्ञात छ ।




