काठमाडौँ । विशेष अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कोष दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लागेका चारमध्ये एक जनालाई थुनामा पठाउने र तीन जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
बिहीबार अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रतिवादी अमित मोरलाई मुद्दाको पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो। मोरको हकमा इजलासका दुई सदस्यले थुनामा पठाउनुपर्ने राय दिएका थिए भने न्यायाधीश हेमन्त रावलले १ करोड रुपैयाँ धरौटीमा छाड्नुपर्ने भन्दै फरक मत राखेका थिए ।
यसैगरी, अदालतले अन्य तीन प्रतिवादीहरूलाई भने लाखौँ रुपैयाँ धरौटीमा छाड्ने निर्णय गरेको छ। जसअनुसार राजीव मोरलाई १ करोड रुपैयाँ, दिपक कुमार श्रेष्ठलाई ५० लाख रुपैयाँ र सुमेर शमशेर ज।ब।रा।लाई २५ लाख रुपैयाँ धरौटी तोकिएको छ ।
हिमालयन रिइन्स्योरेन्सको झण्डै २ अर्ब ७३ करोड रुपैयाँ बराबरको रकम ब्रोकरमार्फत परिचालन गरी अन्य व्यक्तिको लाभका लागि प्रयोग गरेको र गैरकानुनी रूपमा सम्पत्ति शुद्धीकरण गरेको उनीहरूमाथि अभियोग छ। प्रतिवादीहरूले बयानका क्रममा आफूहरूले संस्थागत निर्णय कार्यान्वयन गरेको भन्दै कसुर अस्वीकार गरे पनि अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा यस्तो आदेश जारी गरेको हो ।

_bJlXSH19lL.webp&w=3840&q=75)


