रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक सामग्री वितरण गरिएको छ ।
उत्तरगया गाउँपालिकाको अनुरोधमा लिस्चा हिमालय ईभीको आर्थिक सहयोग तथा दिगो विकासका लागि एकता नेपालको व्यवस्थापनमा प्रभावित २५० परिवार र ५० जना सुत्केरी तथा शिशुहरूका लागि शनिबार आवश्यक राहत सामग्री व्यवस्थापन गरिएको हो ।
बाढीका कारण तटीय क्षेत्रमा ठुलो जनधनको क्षति हुनुका साथै मानवीय क्षति र भौतिक संरचनासमेत नष्ट भएपछि प्रभावित परिवारको तत्काल आवश्यकता पूरा गर्न सहयोगको लागि अनुरोध गरिएको र सो सामाग्रीहरू प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
राहत प्याकेजमा चामल,दाल, चिउरा, चना, नुन, खाने तेल, बेसार, मसला, मस्यौरा, सखरलगायत खाद्य सामग्री समावेश छन् । त्यस्तै भाँडाकुँडा, बाल्टिन, साबुन, मन्जन तथा ब्रस, सेनेटरी प्याड, पोर्टेबल सोलार सेट, टर्च लाइट, जीवनजल, ब्ल्याङ्केट र पछ्यौरा तथा अन्य दैनिक आवश्यक सामग्रीसमेत छन् ।
विशेषगरी सुत्केरी तथा शिशुका लागि ल्याक्टोजिन दूध, सुत्केरीलाई लगाउने गाउन, फलाटिनको कपडा, ज्वानो, मेथी र चामलको पिठोलगायत सामग्री छुट्टै व्यवस्था गरिएको दिगो विकासका लागि एकता नेपालका परियोजना व्यवस्थापनक अनिल पौडेलले बताए ।
गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालले राहत सामग्री प्रभावित परिवारसम्म प्रभावकारी र पारदर्शी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्न गरे ।
