बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका दाङका चार कांग्रेस नेताले सफाइ पाएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले दाङका राजु खनाल, प्रचण्डविक्रम न्यौपाने, खगराज पाण्डे र प्रज्ञान न्यौपानेलाई अनुशासन उल्लंघनको आरोपबाट सफाइ दिएको हो ।
समितिले यसअघि उनीहरूसँग स्पष्टीकरण मागेको थियो । नेताहरूले आफूहरूमाथि लगाइएको आरोप निराधार र असत्य भएको तथा पार्टीविरुद्ध कुनै गतिविधिमा संलग्न नभएको दाबी गर्दै स्पष्टीकरण दिएका थिए ।
पार्टीको नीति तथा निर्देशनअनुसार आफूलाई तोकिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उनीहरूको स्पष्टीकरणमा उल्लेख थियो ।
केन्द्रीय अनुशासन समितिको भदौ १८ गते बसेको बैठकले नेताहरूले पेस गरेको स्पष्टीकरण तथा सम्बन्धित मिसिलमा संलग्न कागजात अध्ययन गरेपछि आरोपबाट सफाइ दिने निर्णय गरेको हो ।
अनुशासन समितिका सचिव दिनेश थापामगरले हस्ताक्षर गरेको पत्रमा उनीहरूमाथि लागेको आरोपबाट सफाइ पाउने ठहर भएको उल्लेख छ । समितिले निर्णयको जानकारी नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति र दाङ जिल्ला कार्यसमितिलाई समेत गराएको छ ।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट योगेन्द्र चौधरी, क्षेत्र नम्बर २ बाट किरणकिशोर घिमिरे र क्षेत्र नम्बर ३ बाट दीपक गिरी कांग्रेसका उम्मेदवार थिए ।


