काठमाडौँ । रास्वपा महामन्त्री विपिनकुमार आचार्यले उद्धारकर्ता र पीडितको अदम्य साहसको प्रशंसा गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'कसैको निभ्नै लागेको धड्कनलाई आफ्नै हातले तानेर 'बचाउन सकियो!' भन्दा, धुलो र पसिनाले लतपतिएका ती अनुहारहरूमा कस्तो आँधी शान्त हुँदो हो ? मृत्युको चिसो अँध्यारोमा लगभग हारिसकेको बेला, अचानक कसैको हात समाउन पाउँदा 'अब त बाँचियो...' भन्दै तप्प खसेको आँसुले कस्तो जिन्दगी महसुस गर्दो हो ?'

उनी थप लेख्छन्– 'एकातिर आफ्नै सास हत्केलामा राखेर अर्काको सास खोज्दै हिँड्ने उद्धारकर्ताहरू। अर्कोतिर, 'कोही त आउला नि' भन्ने झिनो आशको त्यान्द्रो समाएर, भोक, प्यास र त्रासको बीचमा पनि आफ्नो हिम्मतलाई मर्न नदिने ती योद्धाहरू। अबका केही दिन, मृत्यु हार्दै जाओस् अनि जीवनले जितिरहोस्। विपत्तिको बीचबाट कसैलाई तानेर ल्याउने ती साहसी हातहरू र हार नमानेर सास जोगाइराख्ने ती अदम्य जीवनहरूको फेहरिस्त अझै लम्बिँदै जाओस्। हरेक पर्खाइको अन्त्य मिलनमा होस्, हरेक अँध्यारोको अन्त्य उज्यालोमा होस्। कृष्ण भगवानसँग यति मात्र माग्छु, कृष्णाजन्माष्टमीको सबैलाई शुभकामना।'