काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल) को मुख खुलाउने प्रयास जारी रहेको सरकारी पदाधिकारीहरूले जनाएका छन् ।
आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशङ्कामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली ५ एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो भत्केका फलामसहितका संरचना तथा ठुलठुला ढुङ्गाहरू (डेब्रिस) भेटिएका छन् । निरन्तरको प्रयासपछि त्यो पन्छ्याएर माथिबाट ३ फिट जति सुरुङको मुख खुलाइएको बताइएको छ ।
यससँगै उद्धार टोली त्यसभित्र १५–२० मिटर परसम्म पुगिसकेको छ भने एक्स्टाभेटर तथा मेसिनसहित प्रवेश गर्नका लागि पुरै मुख खुलाउनुपर्ने भएकाले त्यहाँ रहेको बाँकी डेब्रिस हटाउने कार्य जारी छ । थप ७ वटा बोल्डर (ठुला ढुङ्गा) ब्लास्टिङका लागि तयारी गरिएको छ ।
यो सुरुङ १७० मिटर जति लम्बाइको छ । माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै भित्र पावर हाउसलगायत अन्य संरचनामा पुग्न सकिने प्राविधिकहरूले बताएका छन् ।

_Hgfm4XJWtU.webp&w=3840&q=75)


