काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ–
१. ग्यासमा उद्योगीको मनोमानी
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यासको ढुवानी तथा वितरण प्रभावित भएको छ।
सडक अवरुद्ध भएसँगै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता भएपछि ग्यास ढुवानी लागत बढेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्मा बोलिरहेका बेला कांग्रेस सांसद भरत खड्का एकाएक ढल्न पुगेका छन् । ब्लड प्रेसर हाई भएका उनलाई हाल उपचारका लागि वीर अस्पताल लगिएको छ ।
उक्त घटना हुनु केही समयअघि खड्काले संसद् बैठकमा आफ्नो धारणा समेत राखेका थिए । सो क्रममा उनले विपद्को यस घडीमा नागरिकको ज्यान जोगाउन विदेशी राष्ट्र वा सहयोगी संस्थाहरूबाट सहयोग लिन सरकारले कुनै सङ्कोच मान्न नहुने बताएका थिए ।
मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । बैठकले भदौ २३ गते बिदा दिनेसहितका निर्णय गरेको हो ।
४. ग्रीन आर्मीबारे प्रश्न
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बिहीबारको बैठकमा ‘ग्रीन आर्मी’को रहस्यमय उपस्थिति र बाढी प्रभावित सुरुङको उद्धारका सम्बन्धमा प्रधानमन्त्री बालेन शाहले दिएको विवादास्पद अभिव्यक्तिको विषयले प्राथमिकता पाएको छ।
आजको बैठकमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरूले यी विषयमा सरकारको आलोचना गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा ‘ग्रीन आर्मी’ नामक समूह सैनिक पोसाक र दज्र्यानी चिन्हसहित देखिएको भन्दै आपत्ति जनाए।
प्रहरी प्रधान कार्यालयले भोटेकोशी नदीमा आएको बाढीपछिको प्राकृतिक विपद्मा परेका बालबालिकाहरूको फोटो तथा भिडियो सामाजिक सञ्जालमा जथाभावी सार्वजनिक भइरहेको प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले यस्ता सामग्रीले बालबालिकाको गोपनीयता, आत्मसम्मान र मानसिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पार्ने भन्दै ७ बुँदे विशेष अनुरोध गरेको हो।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रहरूमा ‘फुड पोइजनिङ’ (खाद्य विषाक्तता) को उच्च जोखिम देखिएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विशेष सतर्कता अपनाउन अपिल गरेको छ।
बाढीका कारण खानेपानीका स्रोतहरू प्रदूषित भएको र अस्वस्थकर खाद्य वस्तुको उपभोगले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै विभागले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका उपभोक्ताहरूलाई सचेत गराएको हो।
६.उद्धार कोषमा जुट्यो १० अर्ब
विश्वको अग्रणी प्रविधि कम्पनी ‘एनभिडिया’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सन हवाङले नेपालको प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (१ अर्ब ५१ करोड भन्दाबढी नेपाली रुपैयाँ) सहयोग प्रदान गरेका छन् ।
संस्थापनलाई चुनौती दिँदै नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशनको मिति तोक्नेसहित ९ बुँदे निर्णय गरेको छ। देउवा पक्षको बिहीबार सम्पन्न बैठकले १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो।
बैठकले वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २०, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज २३, जिल्ला अधिवेशन कात्तिक १५ र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने कार्यतालिका पनि तय गरेको छ।
८. सरकारी अनुगमन कर्मकाण्डी
रसुवागढीको बाढीपहिरोले पुर्याएको क्षतिका कारण सिङ्गो देश शोकमा छ । देशको मुख्य ‘लाइफलाइन’ मानिने नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा आपूर्ति शृङ्खला नराम्ररी प्रभावित भएको छ ।
यही राष्ट्रिय विपद् र नजिकिँदै गरेका चाडपर्व (दसैँ, तिहार, छठ) को दोहोरो मौका छोपेर बजारका बिचौलिया, ठुला आयातकर्ता र होलसेल व्यापारीहरूले कालोबजारी सुरु गरेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
९.रास्वपाको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्रीको न्यायोचित वितरणलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
रास्वपा पार्टी सचिवालयको बिहीबार बसेको बैठकले भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहत वितरणको अवस्थाबारे समीक्षा गर्दै प्रभावित नागरिकको सुरक्षित उद्धार, घाइतेको उपचार तथा विस्थापितका लागि आवश्यक राहत सामग्रीको न्यायोचित वितरणमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
१०. बिरामी भर्ना कटौती
कोशी प्रदेशको राजधानी विराटनगरमा स्वास्थ्य प्रयोजनका लागि प्रयोग हुने (मानवीय) अक्सिजनको अभाव देखिएको छ । स्थानीय अक्सिजन उत्पादक उद्योगहरूमा प्राविधिक समस्या आई उत्पादन ठप्प भएपछि यहाँका प्रमुख अस्पतालहरूमा अक्सिजनको अभाव भएको हो । अक्सिजनको सहज आपूर्ति नहुँदा अस्पतालहरूले नयाँ बिरामीको भर्नासमेत कटौती गर्न थालेको बताएका छन् ।
११. संसदमा कसले के भने ?
प्रतिनिधि सभाका सांसदहरूले १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
सभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरूले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा स्वास्थ्य व्यवस्थापनमा गति बढाउन आग्रह गरेका हुन्।
सरकारको ढिलासुस्तीका कारण आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको कार्य पूर्ण रूपमा प्रभावित बनेको छ । सरकारले विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरे पनि अन्तिम रूप नदिँदा पाठ्यपुस्तक छपाइको काम प्रभावित बनेको हो ।
विद्यालय शिक्षा पाठ्यक्रम प्रारूपले अन्तिम रूप नपाउँदा र पाठ्यक्रम विकास केन्द्रले ‘प्रिन्ट रेडी कपी’ (पीआरसी) उपलब्ध नगराउँदा मुद्रणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यतालिका ठप्प बनेको छ । विद्यालय शिक्षाको मार्गदर्शन मानिने विद्यालय शिक्षा पाठ्यक्रम प्रारुप नटुङ्गिँदा छपाइको काम रोकिएको हो, जसले गर्दा आगामी शैक्षिकसत्रमा समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्ने जोखिम छ ।




