काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. विपदमा राहत र उद्धारका लागि कसरी काम गर्दैछन् दलहरू ?
भोटेकोशी बाढीपछि प्रमुख राजनीतिक दलहरूले आन्तरिक जिम्मेवारी नै तोकेर राहत र उद्धारका लागि काम गरिरहेको जनाएका छन् ।
२. कांग्रेसलाई एकजुट बनाउन निर्णायक प्रयास
नेपाली कांग्रेसभित्रको विवाद सुल्झाएर पार्टीलाई एकजुट बनाउन निर्णायक प्रयास थालिएको छ । कांग्रेस सभापति गगनकुमार थापाले असन्तुष्ट पक्षका केही नेतासँग भेटवार्ता गरेका छन् ।
३. सानो टिम लिएर राष्ट्रसंघको महासभामा सहभागी हुँदै बालेन
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको भ्रमणको आधिकारिक घोषणा नभए पनि सानो टोलीको नेतृत्व गर्दै सहभागी हुने तयारी थालिएको छ ।
४. ग्रीन आर्मीसँग डकुमेन्ट माग्यो गृहले
पछिल्लो समय विवादमा तानिएको ग्रीन आर्मी नेपालका विषयमा गृह मन्त्रालयले चासो देखाउँदै सम्बन्धित कागजात मागेको छ ।
५. बाढी सम्बन्धी रिपोर्टमा प्रहरी र प्राधिकरणको तथ्याङ्कमै भिन्नता
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार सम्बन्धी दुई सरकारी निकायको रिपोर्टमा भिन्नता देखिएको छ । नेपाल प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क एकापसमा पृथक देखिएको हो ।
६. क्यासिनोबाट इन्सपेक्टर र पालिका अध्यक्ष पक्राउ
वीरगञ्जमा सञ्चालित क्यासिनोबाट प्रहरीले इन्सपेक्टर र गाउँपालिका अध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव र इन्सपेक्टर प्रदिप पौडेल छन् ।
७. ठमेलमा युवतीलाई दुव्र्यवहार गरेका युवक हुलिया परिवर्तन गरेको अवस्थामा पक्राउ
केही दिनअघि ठमेलमा एक युवतीलाई दुव्र्यवहार गरेका युवक पक्राउ परेका छन् । उनी दुव्र्यवहार गर्दाको अवस्थाभन्दा फरक हुलिया बनाएको अवस्थामा फेला परेका हुन् ।
८. बाढीले रसुवागढी नाकाबाट व्यवसायीका १० अर्ब रुपैयाँभन्दा बढीको सामान नष्ट
भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाकामा आइपुगेका १० अर्ब रुपैयाँभन्दा बढी मूल्यको सामान नष्ट भएको व्यवसायीहरूले जनाएका छन् । दसैँ तथा तिहारलाई लक्षित गरी चीनबाट ल्याइएका सामान बाढीले बगाएर नष्ट गरेको उनीहरूले जनाएका हुन् ।
९. नेपाल सुपर लिग अचानक स्थगित
भदौ २० गतेदेखि सुरु हुने भनिएको नेपाल सुपर लिग फुटबल प्रतियोगिता अचानक स्थगित भएको छ । पूर्वनिर्धारित मितिमा प्रतियोगिता सुरु नभए पनि यसको कारण र नयाँ मिति भने सार्वजनिक गरिएको छैन ।
१०. नाडीमा ट्याटु : पत्नीको नाम लेखिएका कारण शवको पहिचान खुल्यो
नुवाकोटको विदुर नगरपालिका–१० स्थित त्रिशूली बजारबाट प्रहरीले घरमा पुरिएको अवस्थामा एउटा शव फेला पारेको छ । नाडीमा ट्याटु खोपिएको, जसमा पत्नीको नाम लेखिएको आधारमा शवको पहिचान गरिएको प्रहरीले जनाएको छ ।
११. उड्डयन क्षेत्रले सामना गर्दै गएको तापक्रम वृद्धि र आँधीयुक्त आकाश
जलवायु परिवर्तनले पृथ्वीको तापक्रम मात्र बढाइरहेको छैन, हवाई यात्राका लागि आवश्यक आकाश र विमानस्थलको सञ्चालनलाई समेत थप चुनौतीपूर्ण बनाउँदै लगेको छ ।
बढ्दो तापक्रम, शक्तिशाली गर्जनसहितका आँधी, अत्यधिक वर्षा, टर्बुलेन्स र समुद्री सतह वृद्धिले विश्वको उड्डयन उद्योगमा जोखिम पनि निम्त्याइरहेका छन् । यसको प्रत्यक्ष असर यात्रुको यात्रा समय, टिकटको मूल्य र विमानस्थलको पूर्वाधारमा समेत पर्न सक्ने देखिएको छ ।
१२. सांसद बोधनारायण श्रेष्ठसँग वारपार
बोध नारायण श्रेष्ठ नेपालको राजनीतिमा एक बौद्धिक र जुझारु व्यक्तिका रूपमा चिनिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ–२ का निर्वाचित सांसद श्रेष्ठ संसदीय सुनुवाइ समितिको सभापतिको जिम्मेवारीमा छन् ।
राजनीतिमा आउनुअघि उनको लामो समय विपद् व्यवस्थापन र उद्धारको क्षेत्रमा काम गरेको अनुभव छ । हालै रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र त्यसले रसुवा, धादिङ, नुवाकोट लगायतका जिल्लामा पुर्याएको अपूरणीय क्षतिका सन्दर्भमा श्रेष्ठसँग रातोपाटीको ‘वारपार’का लागि रोहित दाहालले कुराकानी गरेका छन् ।




