आज २०८३ भदौ २१ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा सानो टिम लिएर राष्ट्रसंघको महासभामा सहभागी हुँदै बालेन, ग्रीन आर्मीसँग डकुमेन्ट माग्यो गृहले, विपदमा राहत र उद्धारका लागि कसरी काम गर्दैछन् दलहरू ? कांग्रेसलाई एकजुट बनाउन निर्णायक प्रयास, बाढी सम्बन्धी रिपोर्टमा प्रहरी र प्राधिकरणको तथ्याङ्कमै भिन्नता, ठमेलमा युवतीलाई दुर्व्यवहार गरेका युवक हुलिया परिवर्तन गरेको अवस्थामा पक्राउ लगायत छन् ।
१. सानो टिम लिएर राष्ट्रसंघको महासभामा सहभागी हुँदै बालेन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको भ्रमणको आधिकारिक घोषणा नभए पनि सानो टोलीको नेतृत्व गर्दै सहभागी हुने तयारी थालिएको छ ।
२. ग्रीन आर्मीसँग डकुमेन्ट माग्यो गृहले पछिल्लो समय विवादमा तानिएको ग्रीन आर्मी नेपालका विषयमा गृह मन्त्रालयले चासो देखाउँदै सम्बन्धित कागजात मागेको छ ।
३. विपदमा राहत र उद्धारका लागि कसरी काम गर्दैछन् दलहरू ? भोटेकोशी बाढीपछि प्रमुख राजनीतिक दलहरूले आन्तरिक जिम्मेवारी नै तोकेर राहत र उद्धारका लागि काम गरिरहेको जनाएका छन् ।
४. कांग्रेसलाई एकजुट बनाउन निर्णायक प्रयास नेपाली कांग्रेसभित्रको विवाद सुल्झाएर पार्टीलाई एकजुट बनाउन निर्णायक प्रयास थालिएको छ । कांग्रेस सभापति गगनकुमार थापाले असन्तुष्ट पक्षका केही नेतासँग भेटवार्ता गरेका छन् ।
५. बाढीले रसुवागढी नाकाबाट व्यवसायीका १० अर्ब रुपैयाँभन्दा बढीको सामान नष्ट भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाकामा आइपुगेका १० अर्ब रुपैयाँभन्दा बढी मूल्यको सामान नष्ट भएको व्यवसायीहरूले जनाएका छन् । दसैँ तथा तिहारलाई लक्षित गरी चीनबाट ल्याइएका सामान बाढीले बगाएर नष्ट गरेको उनीहरूले जनाएका हुन् ।
६. बाढी सम्बन्धी रिपोर्टमा प्रहरी र प्राधिकरणको तथ्याङ्कमै भिन्नता भोटेकोशी बाढीपछिको खोज तथा उद्धार सम्बन्धी दुई सरकारी निकायको रिपोर्टमा भिन्नता देखिएको छ । नेपाल प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क एकापसमा पृथक देखिएको हो ।
७. ठमेलमा युवतीलाई दुर्व्यवहार गरेका युवक हुलिया परिवर्तन गरेको अवस्थामा पक्राउ केही दिनअघि ठमेलमा एक युवतीलाई दुर्व्यवहार गरेका युवक पक्राउ परेका छन् । उनी दुर्व्यवहार गर्दाको अवस्थाभन्दा फरक हुलिया बनाएको अवस्थामा फेला परेका हुन् ।
८. क्यासिनोबाट इन्सपेक्टर र पालिका अध्यक्ष पक्राउ वीरगञ्जमा सञ्चालित क्यासिनोबाट प्रहरीले इन्सपेक्टर र गाउँपालिका अध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव र इन्सपेक्टर प्रदिप पौडेल छन् ।
९. नेपाल सुपर लिग अचानक स्थगित भदौ २० गतेदेखि सुरु हुने भनिएको नेपाल सुपर लिग फुटबल प्रतियोगिता अचानक स्थगित भएको छ । पूर्वनिर्धारित मितिमा प्रतियोगिता सुरु नभए पनि यसको कारण र नयाँ मिति भने सार्वजनिक गरिएको छैन ।
१०. नाडीमा ट्याटु : पत्नीको नाम लेखिएका कारण शवको पहिचान खुल्यो नुवाकोटको विदुर नगरपालिका–१० स्थित त्रिशूली बजारबाट प्रहरीले घरमा पुरिएको अवस्थामा एउटा शव फेला पारेको छ । नाडीमा ट्याटु खोपिएको, जसमा पत्नीको नाम लेखिएको आधारमा शवको पहिचान गरिएको प्रहरीले जनाएको छ ।




