मुस्ताङ। छोसेर केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण उपल्लो मुस्ताङका घरहरूमा व्यापक क्षति पुगेको छ । भूकम्पका कारण मानवीय क्षति नभए पनि सबैजसो घरहरू चर्किएका छन् भने राजाको दरबारदेखि विद्यालय भवनमा समेत क्षति पुगेको छ ।
स्थानीयहरूको ४ सय देखि ५ सय घरहरू चर्किएका पालिकाका अध्यक्ष टसी न्हूर्बू गुरुङले जानकारी दिए । उनका अनुसार राजाको ऐतिहासिक दरबार समेत जीर्ण बनेको छ । छोसेरमा रहेको दिव्यदीप माविको शिक्षक तथा विद्यार्थीको आवास प्रयोग गर्न नमिल्ने भएको छ ।
‘विद्यार्थी बस्ने छात्रावास भवन पूर्ण रूपमा जीर्ण भएको छ, मान्छे टेक्न नै नमिल्ने गरी माटोहरू झरेको छ । विद्यार्थीहरूलाई कक्षाकोठाबाट बेन्चहरू हटाएर नचर्किएको सुरक्षित भवनतर्फ सुताउने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘विभिन्न वडामा ३० भन्दा बढी घरमा मान्छे बस्न नमिल्ने गरी जोखिममा परेको छ ।’
शिक्षकहरूको आवाससमेत बस्न नमिल्ने गरी भत्किएपछि गाउँपालिकाको तर्फबाट पाल (टेन्ट) को व्यवस्था गरी उनीहरूलाई राखिएको छ । छोसेर केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता दर्जन पटक पराकम्पहरू आएको गुरुङको भनाई छ । लगातार भूकम्पको महसुस भएपछि स्थानीयहरू घर छोडेर समाज घर र खुला ठाउँमा रात बिताइरहेका छन् । खासगरी वडा नम्बर १ छोसेर, २ को छोन्हुप र ३ को ठिंगरमा बढी असर परेको छ ।
भूकम्पले यहाँको ऐतिहासिक पुरानो दरबारमा समेत क्षति पुर्याएको छ । ‘दरबार हेर्दा धेरै ठाउँमा पर्खाल चर्किएका छन् । माटो खसेको छ । धेरै नै जीर्ण भएको देखियो,’ प्रमुख प्रशासकीय अधिकृत न्यूटन लम्साल भन्छन्, ‘अर्को धक्का आए दरबार ढल्न सक्छ । यहाँ रहेका बहुमूल्य थान्का तथा मण्डलाहरू नष्ट हुने जोखिम बढेको छ ।’
लगातार परकम्पहरू आइरहेका कारण स्थानीय बासिन्दाहरू त्रसित छन् । चिसो मौसम सुरु भइसकेको भए पनि स्थानीयहरू घरभित्र बस्न नसकेर बाहिर टेन्ट टाँगेर रात बिताउन बाध्य छन् । ‘दिउँसो पनि निरन्तर धक्काहरू आइरहेका छन् । जनताहरू टेन्ट टाँगेर बाहिर बसिरहेका छन्,’ उनले थपे, ‘घरभित्र कोही पनि बसेका छैनन् ।’
भूकम्पले असर गरेपछि कार्यपालिकाको बैठक डाकिएको छ । शुक्रबार बैठक बसेर थप निर्णय लिने पालिकाले जनाएको छ । गाउँपालिकाको प्राविधिक टोलीले अहिले प्रभावित क्षेत्रमा पुगेर क्षतिको विस्तृत विवरण सङ्कलन गरिरहेको छ । भूकम्पले क्षति गरेपछि प्रतिनिधि सभा सदस्य योगेश गौचनले सङ्घ सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘लोमान्थाङका वडा नम्बर १ देखि ५ सम्मका घर तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ,’ उनले भने, ‘प्रारम्भिक अध्ययन अनुसार ३ सय देखि ५ सय घरधुरीमा सामान्यदेखि गम्भीर क्षति पुगेको छ भने केही घरहरू पूर्ण रूपमा बस्न नमिल्ने अवस्थामा पुगेका छन् ।’ लोमान्थाङ क्षेत्र परम्परागत माटाबाट घरहरू बनेकोले ऐतिहासिक तथा सांस्कृतिक संरचना जोगाउन सरकारले विशेष पहल लिनुपर्ने उनले बताए ।
‘लोमन्थाङ लिभिङ म्युजियम हो । भूकम्पपछि परेको वर्षाले चर्किएका संरचना थप जोखिमपूर्ण बनेको छ,’ अघि भने, ‘तत्काल प्रभावितका लागि राहत, क्षतिपूर्ति र पुनः निर्माणको योजना ल्याइयोस् ।’




