दुबई । महिला एसिया कप क्रिकेटअन्तर्गत शनिबार दुबई इन्टरनेशनल स्टेडियममा भारत र पाकिस्तानबीचको खेल सुरु भएको छ ।
खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । तर, खेलको सुरुवात हुनुअघि भारतीय टोलीकी कप्तान हरमनप्रीत कौरले पाकिस्तानी कप्तान फातिमा सानासँग हात मिलाइनन्, जसले फेरि एकपटक खेल जगतमा चर्चा चुलिएको छ ।
भारतीय कप्तान हरमनप्रीत कौरले यसअघि जुन १४ मा भएको महिला टी–२० विश्वकपको खेलमा पनि पाकिस्तानी कप्तानसँग हात मिलाएकी थिइनन् । वास्तवमा, २२ अप्रिल २०२५ मा भएको पहलगाम आतंकवादी हमलापछि भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाउने (नो ह्यान्डशेक) नीति अपनाउँदै आएका छन् ।
यो नीतिको सुरुवात गत वर्षको पुरुष एसिया कपबाट भएको थियो । त्यतिबेला सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतीय टोलीले पाकिस्तानी खेलाडी सलमान अली आगासँग हात मिलाउन अस्वीकार गरेको थियो ।
भारत र पाकिस्तानबिचको भिडन्तमा भारतीय टोली निकै बलियो देखिएको छ । भारतले पाकिस्तानविरुद्धका पछिल्ला चारवटै खेल जितेको छ । पाकिस्तानले भारतविरुद्ध अन्तिम पटक अक्टोबर २०२२ मा एसिया कपकै क्रममा जित दर्ता गरेको थियो । एसिया कप टी–२० को इतिहासमा भारतविरुद्ध पाकिस्तानको त्यो एक मात्र जित हो, बाँकी ६ खेलमा भारतले बाजी मारेको छ ।



