धनगढी । ‘मेरो छोरोले प्रहरी बन्ने ठुलो सपना सजाएको थियो । दुई पटक परीक्षा दियो, सफल भएन । फेरि एकपटक फर्म भरेर नाम निकाल्छु भन्थ्यो । उसको त्यो सपना पनि पूरा हुन सकेन । अहिले छोराको लाससमेत भेटिएन ।’

कञ्चनपुरको कृष्णपुर नगरपालिका–३, बैभापट्टी टोलकी ४२ वर्षीय फुलदेवी राना यति भन्दै भक्कानिइन् । केहीबेर उनी मौन बसिन् । आँसु पुछिन् ।

१० दिनदेखि रोइरहेकी आमाका आँखामा अब आँसु पनि सकिएजस्तो देखिन्थ्यो ।

उनको एक्लो छोरा क्रेशन राना १० दिनदेखि सम्पर्कविहीन छन् । रसुवामा आएको बाढीपछि उनी कहाँ छन् भन्ने परिवारलाई थाहा छैन । छोरा फर्किने आशा मनमा छ । छोराको अवस्थाबारे एक न एक दिन त कुनै खबर आउला भनेर त्यसैको प्रतीक्षामा फुलदेवीका दिन बितिरहेका छन् ।

बिहीबार दिउँसो फुलदेवीको घरमा मानिसहरू जम्मा भएका थिए । गाउँका छिमेकीदेखि कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रोपती रानासम्म त्यहाँ पुगेका थिए । बाढीपछि क्रेशन बेपत्ता भएको खबर पाएदेखि उनको घरमा यस्तै गरी मानिसहरू आउने–जाने क्रम चलिरहेको छ ।

क्रेशन घरका एक्ला छोरा हुन् । ६ जनाको परिवारमा उनी कमाउने मुख्य खम्बा थिए । बुवा नन्दकिशोर राना, आमा फुलदेवी, १७ वर्षीय बहिनी, श्रीमती विपासा र डेढ वर्षीय छोरीसहित उनको परिवार बैभापट्टीमा बस्छ ।

घरबासबाहेक परिवारसँग पर्याप्त खेतीपाती गर्ने जमिन छैन । त्यसैले फुलदेवी अधियाँमा खेती गर्छिन् । कमजोर आर्थिक अवस्थाका कारण क्रेशनले सानैदेखि काम गर्दै पढे । उनले कक्षा १२ सम्ममात्र पढ्न सके ।

‘मेरो छोरो पढाइमा राम्रो थियो । घरको अवस्था कमजोर भएकाले मजदुरी गर्दै पढ्यो । कक्षा १२ पनि मजदुरी गर्दै पढेको हो,’ फुलदेवीले भनिन्, '१२ पछिको पढाईलाई अगाडि बढाउन सकिएन ।'

क्रेशनको सपना भने मजदुर बनेर जीवन बिताउने थिएन । उनी आर्मी, प्रहरी वा कुनै सुरक्षा निकायमा जागिर खाने सपना देख्थे । दुईपटक फर्म भरेर परीक्षा पनि दिए, तर पहिलो चरणमै बाहिरिए ।

‘एउटा दाँत अलिकति अग्लो भएकाले पहिलो चरणमै बाहिरियो, यति हुँदा पनि उसले हिम्मत हारेको थिएन । फेरि फर्म भरेर परीक्षा दिन्छु, नाम निकाल्छु भन्थ्यो,’ फुलदेवीले भनिन् ।

आर्थिक अवस्थाका कारण त्यो सपना पूरा गर्नुअघि नै परिवारको जिम्मेवारीले उनलाई रोजगारीतिर धकेल्यो । घर बनाउने मिस्त्रीको कामदेखि विभिन्न मजदुरी गर्दै उनी परिवारको सहारा बने ।

गत माघमा रोजगारीका लागि उनी रसुवा पुगे । चाइना हाइड्रोपावर २१६ मा वेल्डिङ गर्ने, मसला उठाउनेलगायतका काम गर्थे । उनी वेल्डिङको काम बढी गर्थे । मासिक करिब ३२ हजार रुपैयाँ कमाउँथे र त्यही पैसाले घरको किस्ता तिर्ने र परिवारको खर्च चलाउने गर्थे ।

क्रेशनको विवाह भएको तीन वर्ष भयो । उनकी श्रीमती २१ वर्षीय विपासा घरको कामसँगै डेढ वर्षीय छोरीको हेरचाह गर्थिन् । विपासाले कक्षा १० सम्म पढेकी छन् । अहिले विपासा आफैँ बिरामी छिन् । केही समयअघि गरिएको परीक्षणमा उनलाई सिकलसेल रोग देखिएको छ । उनले नियमित औषधि खानुपर्छ । गाउँकै स्वास्थ्य चौकीमा उपचार हुन्छ । अवस्था गम्भीर भए धनगढी लैजानुपर्छ ।

उनीहरूको डेढ वर्षीय छोरी पनि जन्मेदेखि नै बिरामी भइरहन्छिन् । पटक–पटक बिरामी हुने र रोइरहने भएकाले परिवारले उनलाई पनि सिकलसेल हुन सक्ने आशङ्का गरेको छ, तर अहिलेसम्म क्रेशन र उनकी छोरी दुवैको परीक्षण भएको छैन ।

श्रीमान् बेपत्ता भएपछि विपासाको अवस्था झन् कमजोर बनेको छ । ‘बुहारीले खानापानी नै छोडेकी छ,’ फुलदेवीले भनिन्, ‘आफूलाई सिकलसेल छ । त्यसमाथि सानी छोरीलाई दुध खुवाउनुपर्छ । बच्ची बिरामी भएर रोइरहन्छे । हामीले के भनेर सम्झाउने ?’

फुलदेवीसँग आफ्नै मोबाइल छैन । क्रेशनले रसुवाबाट उनकी बुहारी विपासा वा छोरीको मोबाइलमा फोन गर्थे । कहिलेकाहीँ भिडियो कल आउँथ्यो । त्यही बेला फुलदेवीले पनि छोरासँग कुरा गर्थिन् ।

भदौ १० गते भने क्रेशनको घरमा फोन आएन । त्यसको दुई दिनअघि मात्रै विपासासँग म्यासेजमा उनको कुरा भएको थियो ।

भदौ १० गते बिहान करिब ११ बजे फुलदेवीले रसुवामा बाढी आएको खबर थाहा पाइन् । उनी घाँस काट्न गएकी थिइन् ।

‘देवरानीले मोबाइलमा फेसबुकमा बाढी आएको देखिछिन् । मलाई खबर गरिन् । खबर सुन्नेबित्तिकै होस उड्यो,’ फुलदेवीले भनिन्, ‘छोराको नम्बरमा फोन गर्‍यौँ । फोन लागेन ।'

त्यसपछि परिवारले आफन्त र प्रशासनलाई खबर गर्‍यो । क्रेशनका काकाले उनको फोटो र सम्पर्क नम्बर राखेर सामाजिक सञ्जालमा खोजीका लागि आग्रह गरे, तर १०औँ दिनसम्म पनि परिवारले उनको अवस्थाबारे कुनै खबर पाएको छैन ।

क्रेशनको खोजीका लागि उनका बुवा नन्दकिशोर र गाउँकै एक जना व्यक्ति भदौ १७ गते काठमाडौँ पुगेका छन् । गाउँबाट चन्दा उठाएर उनीहरूलाई काठमाडौँ पठाइएको हो । भदौ १८ गते उनीहरू सिंहदरबार पुगे ।

त्यहाँ रसुवामा खोजी तथा उद्धारको काम भइरहेको जानकारी पाए पनि क्रेशनको अवस्थाबारे उनीहरूले ठोस खबर पाएनन् ।

‘शव हेर्ने काम भइरहेको छ भनियो, तर छोराको केही खबर आएको छैन,’ फुलदेवीले भनिन् ।

क्रेशनमात्रै होइन, उनकै परिवारका थप दुई जना पनि रसुवा बाढीपछि बेपत्ता छन् ।

क्रेशनका आफ्नै काका ३० वर्षीय कालु राना र ठुला बुवाका छोरा २९ वर्षीय रिकेश राना पनि बेपत्ता छन् । उनीहरू तीनै जना चाइना हाइड्रोपावरमा काम गर्न रसुवा गएका थिए । उनीहरू बस्ने डेरा पनि एकै ठाउँमा थियो ।

घटनाको अघिल्लो रात क्रेशनको नाइट ड्युटी थियो । परिवारका अनुसार उनी बिहान करिब ७ बजे काम सकेर डेरामा फर्किएका थिए । काम गर्ने ठाउँबाट डेरा पुग्न करिब पाँच मिनेट लाग्थ्यो ।

नाइट ड्युटी सकेर फर्किएका क्रेशन बिहानको खाना खाएर आराम गर्ने तयारीमा थिए कि भन्ने परिवारको अनुमान छ । त्यसपछि आएको बाढीले उनीसहित कालु र रिकेशलाई पनि बेपत्ता बनायो ।

कालुका १३ वर्षका छोरा र सानी छोरी छन् । रिकेशकी १२ वर्षीय छोरी छिन् । उनकी दिदी अपाङ्गता भएकी छन्, जो ओछ्यानबाट उठ्न सक्दिनन् । रिकेशकी श्रीमती, आमा र छोरीको जिम्मेवारी पनि उनकै काँधमा थियो । उनका बुवाको यसअघि नै निधन भइसकेको छ ।

तीनै जना आफ्ना परिवारका मुख्य कमाउने सदस्य थिए । उनीहरूका घर पनि एकअर्कासँग जोडिएका छन् । कच्ची घरमा बस्दै आएका तीनै परिवारको सपना काम गरेर घरको अवस्था सुधार्ने थियो । अहिले तीनै परिवारको घरमा उस्तै चिन्ता छ ।

क्रेशनकी आमा फुलदेवीलाई भने छोरा फर्किने आशा अझै मरेको छैन, तर १० दिनसम्म पनि कुनै खबर नआउँदा उनी आफैँलाई सम्हाल्न सकिरहेकी छैनन् ।

‘उसले फोन गर्दा प्रहरीमा नाम निकाल्छु भन्थ्यो । हामीलाई पनि उसको सपना पूरा हुन्छ भन्ने लागेको थियो,’ उनले भनिन्, ‘अहिले बिमारी श्रीमती, बिमारी छोरीलाई छोडेर ऊ कहाँ गयो, के भयो केही थाहा छैन ।’

छोराको कमाइबाट तिर्दै आएको घरको किस्ता अब कसरी तिर्ने भन्ने चिन्ताले पनि उनलाई पिरोलेको छ ।