भोटेकोशी-त्रिशूली बाढीको आठौँ दिनमा यस घटनासम्बन्धी मुख्यमुख्य अप्डेट यस प्रकार छन्।

यससँगै हामी आजका लागि यो पेज बन्द गर्दै छौँ। हाम्रो लाइभ पेज हेरिदिनुभएकामा धन्यवाद।

अन्य समाचारका लागि हाम्रो वेबसाइट हेर्नुहोला। हाम्रा सामग्रीहरू फेसबुक, इन्स्टाग्राम र यूट्यूबमा पनि उपलब्ध छन्।

गत साताको भोटेकोशी-त्रिशूली बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या १,२०४ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।

बुधवार साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार सम्पर्कविहीनहरूको सङ्ख्या ४,२१६ छ।

तस्बिर स्रोत, Nepal Army

सामान्यतया राजनीतिक हिंसा वा प्रदर्शन, हवाईजहाज दुर्घटना तथा प्राकृतिक विपद्का बेला भ्रामक सूचनाहरू अधिक फैलिन्छन्। अहिलेको अवस्था कस्तो छ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरू त्यस्ता भ्रामक सूचनाहरूले उद्धारकार्यमा प्रयोग हुँदै आएको सीमित स्रोतसाधनमा दुष्प्रभाव पर्ने बताउँछन्।

"ती स्रोत र साधनहरू साँच्चै उद्धारको खाँचो भएका ठाउँमा प्रयोग गर्न सकिन्थ्यो," प्राधिकरणकी प्रवक्ता शान्ति महतले भनिन्।

यसबारे विस्तृत सामग्री पढ्नुहोस्।

भोटेकोशी-त्रिशूली बाढीले विध्वंस मच्चाएको आठौँ दिन प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले सरकारले गरेका कामकारबाही संसद्‌लाई जानकारी गराएका छन् भने विपक्षी दलका नेताहरूले कतिपय मामिलामा सरकार चुकेको औँल्याएका छन्।

प्रतिनिधिसभाको बुधवारको बैठकमा प्रधानमन्त्रीले बाढीको घटना भएदेखि अहिलेसम्म सरकारले गरेका र गरिरहेका कदमबारे उल्लेख गरे।

प्रतिक्रियामा विपक्षी दलका नेताहरूले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै आफ्ना सुझावहरू प्रस्तुत गरे।

यससम्बन्धी विस्तृत समाचार पढ्नुहोस्।

नुवाकोटको तारकेश्वर गाउँपालिकास्थित दर्शनटार क्षेत्रमा त्रिशूली नदीले कटान गर्दा माथि रहेको बस्ती ठूलो जोखिममा परेको छ।

भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कारण उक्त स्थानसहित विदुर नगरपालिकामा पर्ने ढुङ्गे, बसपार्क तथा बेलकोटगढी नगरपालिकाको छब्बिसेमा पनि बस्ती र सार्वजनिक भौतिक संरचनामा क्षति पुग्ने गरी नदीले कटान गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

विस्तृत समाचार पढ्नुहोस्

चार जिल्लामा झन्डै साढे सात हजार निजी घर क्षतिग्रस्त

प्रतिनिधिसभाको बैठकले भोटेकोशी-त्रिशूली बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ।

अर्यालले विपद्‌बाट ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकशन्तप्त परिवारजन, आफन्त र सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गरे। साथै, उनले घाइते नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे।

सभामुख अर्यालले विपद्‌बाट प्रभावित नागरिकको आर्थिक तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र उनीहरूको आवश्यक सेवामा सहज पहुँच व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको राससले लेखेको छ।

बैठकमा बाढीको विपद्‌मा परी दिवङ्गत भएका नागरिकको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट उभिएर मौनधारण गरिएको थियो।

भदौ १० गते ठूल्ठूला चट्टान, लेदो, गेग्रानसहित उर्लिएको भोटेकोशीले निमेषभरमै ठूलो जनधनको क्षति गराएको छ।

उक्त त्रिशूली करिडर भनिने क्षेत्रमा एकपछि अर्को गर्दै बनेका तथा बनिरहेका एक दर्जन विद्युत केन्द्रहरू कतिपयको नामोनिसान देखिँदैन। ती क्षेत्रवरपर तिनमा काम गर्ने सयौँ मानिसहरू अझै बेपत्ता छन् जसमा उच्च दक्षता भएका जनशक्ति समेत छन्।

ती क्षेत्रका जलविद्युत् केन्द्रका विकासमा सुरुदेखि लागिपरेका पूर्वमन्त्री तथा नेपाल विद्युत् प्राधिकरणका भूतपूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ यसलाई नेपालको जलविद्युत् विकासको इतिहासकै सबभन्दा ठूलो क्षति मान्छन्।

तिनलाई पुनर्निर्माण गर्न कम्तीमा केही वर्ष लाग्ने उनको अनुमान छ।

यसबारे विस्तृतमा पढ्नुहोस्।

रसुवा बाढीको आठौँ दिन सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले उक्त विपद्‍बारे सदनमा बोलेका छन्।

उनले भनेका मुख्यमुख्य कुरा केके छन्?

बुधवार बिहान ९ बजे तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको र ९:३५ बजे एसएमएसबाट जानकारी दिएको प्रधानमन्त्रीले बताए। उनले बिहान ९:४५ मा पहिलो उद्धार उडानका रूपमा नेपाली सेनाको हेलिकप्टर गएको र १०:३० बजे काठमाण्डू विमानस्थलमा खोज तथा उद्धार टोली तयारी अवस्थामा राखिएको जनाउँदै तत्काल अग्रसरता लिइएको बताए।

हालसम्म १,११४ शव फेला परेकामा ९५ वटाको मात्र सनाखत हुन सकेको प्रधानमन्त्रीले बताए। उनले डीएनए र अन्य पहिचान सुरक्षित गर्न सकिने गरी जमिनमुनि व्यवस्थापन गरिएको सदनलाई बताए।

त्यसबाहेक घटना भएयता ११,९९३ को उद्धार गरिएको तर अझै ३,९१६ जना अझै सम्पर्कविहीन बनेको उनले बताए।

रसुवा बाढीलाई मानव सभ्यताले भोगेमध्येको ठूलो घटना अनि पूर्वानुमानभन्दा बाहिरको कुरा भएको बताउँदै उनले स्थानीयवासीलाई सतर्क बनाउन लागिपरेका सुरक्षाकर्मीहरू समेत बेपत्ता भएको जानकारी दिए। पूर्वसूचनाका लागि ११ लाखभन्दा धेरै एसएमएस पठाइएको तथा टेलिफोन गरिएको उनले बताए।

प्रक्रिया समेत छोट्याएर अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेको र यति ठूलो विपद्‍मा त्यो 'नलिने कुनै नहुने' प्रधानमन्त्रीले बताए। सुरुदेखि नै भारत र चीनले प्राविधिक पठाएर अनुगमन गरेको उनको भनाइ छ।

प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म ७ अर्ब रुपैयाँभन्दा धेरै र त्यसबाहेक ६१ लाख ४१ हजार अमेरिकी डलरभन्दा धेरै रकम जम्मा भइसकेको प्रधानमन्त्रीले बताए। प्रभावित १५ वटा पालिकामा ोषबाट रकम निकासा समेत भइसकेको उनले बताए।

जलवायु जोखिम बढ्दै गरेको 'गम्भीर सङ्केत'

यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रका मानिसले खेप्नुपरेको जोखिम बढ्दै गरेको 'गम्भीर सङ्केत' गरेको प्रधानमन्त्रीले बताए।

"हामी त सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्‍बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ," प्रधानमन्त्रीले भने।

उनले जलवायु परिवर्तनमा 'विश्वव्यापी योगदान' रहेको र त्यसको सामना गर्नु विश्व समुदायको 'साझा जिम्मेवारी' रहेको टिप्पणी गरे।

भोटेकोशी-त्रिशूली बाढीमा भएको क्षतिपूर्तिका लागि बीमा दाबी भुक्तानी प्रक्रियालाई थप सरल र द्रुत गतिमा बढाउने विषयमा पहल थालिएको अर्थ मन्त्रालयले जनाएको छ।

सो क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेसहित मन्त्रालयका उच्च अधिकारीहरू, नेपाल बीमा प्राधिकरण, बीमा कम्पनीहरू, पुनर्बीमा कम्पनी तथा सर्भेअर सङ्घका प्रतिनिधिहरूबीच छलफल भएको छ।

बैठकमा वास्तविक र प्रमाणिक दाबीलाई बिना झन्झट तत्काल फर्स्यौट गर्न र जलविद्युत्‌ लगायतका ठूला पूर्वाधारको पुनर्निर्माण कार्य तत्काल शुरू गर्न आवश्यक पेश्की भुक्तानी दिने व्यवस्था गर्ने विषयमा छलफल भएको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले एउटा विज्ञप्तिमार्फत् जनाएका छन्।

“सर्भेअर परिचालन कार्यलाई पारदर्शी र निष्पक्ष बनाउन नेपाल बीमा प्राधिकरणले समन्वय गर्ने र आवश्यक परेमा विदेशी विज्ञ सर्भेअरको सेवा समेत लिन सक्ने,” विज्ञप्तिमा उल्लेख छ।

विपद्को विशेष परिस्थितिलाई ध्यानमा राखी दाबी प्रक्रियाका लागि आवश्यक कागजातसम्बन्धी साबिकको कार्यविधिलाई नेपाल बीमा प्राधिकरणले सरल बनाउनेबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

“भोटेकोशी बाढीको बीमा दाबी र भुक्तानीको दैनिक अवस्था अनुगमन गर्न, कम्पनीहरूको तरलता व्यवस्थापन गर्न र पुनर्बीमा शोधभर्नालाई तीव्र बनाउन नेपाल बीमा प्राधिकरणमा एउटा ‘डेडिकेटेड टास्क फोर्स’ गठन गर्ने,” विज्ञप्तिमा जनाइएको छ।

मन्त्रालयका अनुसार भोटेकोशी क्षेत्रका करिब ९०० मेगावाट क्षमताका जलविद्युत्‌ आयोजनाहरूको झन्डै १८० अर्ब रुपैयाँ लगानी रहेको र अन्य पूर्वाधार तथा सवारीसाधनका क्षेत्रमा समेत ठूलो क्षति भएको प्रारम्भिक आकलन गरिएको छ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले प्रतिनिधिसभाको बैठकमा बोल्दै अहिलेको महाविपत्तिको सामना गर्न पर्याप्त स्रोतसाधन नरहेको नेपालले विदेशी ज्ञान एवं अनुभवको प्रयोगमा हिचकिचाउन नहुने बताएका छन्।

प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले कमजोरी पनि लुकाउन नहुने र भएका कामहरूको प्रशंसा गर्न पनि पछि पर्न नहुने उल्लेख गरे।

पराजुलीले पछिल्लो विपद्‌बारे छानबिन, प्रभावित क्षेत्रहरूको जोखिम नक्साङ्कन, प्रभावित मानिसहरूको पुनर्वास तथा जीविकोपार्जन व्यवस्था लगायतका पक्षमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिए।

सरकारले कसलाई कहाँ परिचालन गरेको छ, कहाँ उद्धार भयो र कहाँ बाँकी छ अनि आगामी घण्टामा सरकारले के गरिरहेको छ भन्नेबारे नियमित रूपमा नागरिकहरूलाई जानकारी गराउनुपर्ने उनले बताए।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नुपरेको जोखिम बढ्दै गरेको 'गम्भीर सङ्केत' गरेको बताए।

उनले जलवायु परिवर्तनमा 'विश्वव्यापी योगदान' रहेको र त्यसप्रति विश्वसमुदायको 'साझा जिम्मेवारी' रहेको टिप्पणी गरे।

तस्बिर स्रोत, Reuters

बाढीका कारण ४८ वटा झोलुङ्गे पुलमा क्षति भएको तर २० वटा मर्मत गर्न मिल्ने र बाँकी नयाँ बनाउनुपर्ने अवस्थामा रहेको प्रधानमन्त्रीले बताए।

प्रभावित क्षेत्रमा ३१ वटा मोटरेबल अर्थात् गुड्ने पुल प्रभावित भएकोमा दुईवटामा बेलिब्रिज राख्ने प्रक्रिया अघि बढेको समेत उनले बताए।

थप २० ठाउँमा बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको उनले बताए।

४१ वटा मोटर चल्ने र ४५ वटा झोलुङ्गे पुल क्षतिग्रस्त बनेपछि विकल्पमा बेलिब्रिज

तस्बिर स्रोत, Parliament of Nepal

विभिन्न जलविद्युत् आयोजनामा मानिसहरू फसेको विषयतिर सङ्केत गर्दै त्यहाँको स्थिति "विशेष किसिमको" र "बिल्कुलै फरक" रहेको बताए।

जलविद्युत् आयोजनास्थलमा सुरुङहरू पहिरोका कारण नभई यो बाढी र हिलोमाटो पुरिएकाले त्यहाँ तत्काल उद्धार गर्न ठूलो विशेषज्ञता र प्रविधि उपलब्ध नभएको उनले बताए।

उनका अनुसार तर त्यहाँ भारतीय, चिनियाँ र कोरियाली उद्धारकर्ताहरू पनि परिचालन भएका छन्।

उद्धारकार्य अब सुरुङमा केन्द्रित : 'जीवनको सङ्केत भेटिसकेका छैनौँ तर कोसिस जारी छ'

जलविद्युत् आयोजनाका सुरुङ किन 'जोखिम'मा हुन्छन्?

प्रधानमन्त्रीले दैवी प्रकोप कोषमा हालसम्म ७ अर्ब ८८ लाख रुपैयाँभन्दा धेरै र त्यसबाहेक ६१ लाख ४१ हजार अमेरिकी डलरभन्दा धेरै रकम जम्मा भइसकेको बताए।

त्यसबाट प्रभावित १५ वटा पालिकामा निकासा समेत भइसकेको उनले बताए।

प्रधानमन्त्री शाहले यस विपद्‍मा ‘दृढ सङ्कल्प र साहसका साथ लड्नुको विकल्प नभएको’ र आफूहरूले त्यही गरिरहेको बताए।

घटना भएयता ११,९९३ को उद्धार भएको र ३,९१६ जना अझै सम्पर्कविहीन रहेको प्रधानमन्त्रीले बताए।

नुवाकोटका १८ वटा अस्थायी आश्रयस्थलमा हालसम्म २,६५३ ले राहत लिइरहेको र त्यहाँ रसुवाका पीडितहरूलाई पनि राखिएको उनले बताए।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह गत साता आएको विनाशकारी बाढीका कारण निम्तिएको सङ्कट र जारी उद्धार तथा राहतको प्रयासबारे जानकारी दिइरहेका छन्।

तस्बिर स्रोत, SOPA Images/LightRocket via Getty Images

रसुवा र त्रिशूली नदीमा गत भदौ १० गते आएको बाढीमा परी सयौँ मानिसको मृत्यु भयो भने झन्डै ४,००० जनाको अझै अत्तोपत्तो छैन।

बाढीमा हराएका केही मानिसका परिवारजनले उनीहरू जीवित नभएको निष्कर्ष निकाल्दै कुशको प्रतिकृति बनाएर दाहसंस्कार र काजकिरिया गर्न थालेका छन्।

हराएका मानिसको शव वा पार्थिव अवशेष फेला नपर्दा कुशको आकृति बनाएर अन्तिम संस्कार गर्ने चलन छ।

तस्बिर स्रोत, AFP via Getty Images‍

तस्बिर स्रोत, AFP via Getty Images

नुवाकोटको बेत्रावतीमा बाढीले पुरेको एउटा घरमा फेला परेका २४ वटा शव हेलिकप्टरमार्फत् त्रिशूली लगिएको छ।

गत साता भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीले उक्त क्षेत्रमा ठूलो क्षति गरेको छ।

उक्त घरमा ड्रोनबाट निगरानी गर्दा शवहरू फेला परेको प्रहरीले हिजो जनाएको थियो

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको छ।

उक्त बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आज भोटेकोशी-त्रिशूली बाढी आएपछिको आठौँ दिन। यो लाइभ पेजमा हामीले खोज, उद्धार र राहतसहित विभिन्न विषयमा ताजा जानकारी प्रस्तुत गर्दै जाने छौँ।