सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट तथा सवारी साधन तोडफोड गरिएको भिडियो सामाजिक सञ्जालमा प्रसारित भएपछि जिल्ला प्रहरी कार्यालय मलङ्गवाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विद्यालयभित्र सरसफाइ गराउने विषयमा विद्यार्थीलाई गालीगलौज र दुर्व्यवहार प्रधानाध्यापकले गरेको विषयलाई लिएर सोही विद्यालयका विद्यार्थी तथा शिक्षकहरूबिच छलफल भइरहेको थियो।

सोही क्रममा बलरा नगरपालिका–४ बस्ने ५५ वर्षीय प्रधानाध्यापक वीरेन्द्र झामाथि कुटपिट भएको थियो। कुटपिटबाट उनी सामान्य घाइते भएका छन् भने उनको सवारी साधनसमेत तोडफोड गरिएको छ।

उक्त घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट आवश्यक अनुसन्धान भइरहेको छ। घटनामा संलग्न रहेको आरोपमा बलरा नगरपालिका–२ बस्ने २० वर्षीय अभिषेक कापडलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी वेद प्रसाद गौतमले जानकारी दिएका छन्।