१९ भदौ, रसुवा । गत शनिबार कविराज घलेलाई १८ महिने छोराले बोलाए जस्तो लाग्यो । उनी ब्यूँझिए ।

आँखा खुल्दा अँध्यारो थियो । केहीबेर टोलाए । निद्रा परेन । मनले मानेन । ओडिरहेकै कपडासहित छोरा खोज्न मध्यरातमै निस्किए ।

‘मलाई लाग्यो, छोराछोरीले बोलाउँदैछ, तर त्यहाँ उनीहरू थिएनन्,’ अनलाइनखबरसँग कविराजले भने ।

१० भदौको बाढीपछि कविराजको दिनहरू सन्तानको खोजीमा भौतारिदै बितिरहेको छ ।

उत्तरगया गाउँपालिका- ४, पैरेबेंसीमा बाढीले बगाएको घरको संरचना हेर्न उनी बेलाबेला पुगिरहेका छन् । ‘माथि गएर घरतिर हेर्छु,’ उनी भन्छन्, ‘पुराना दिनहरु सम्झन्छु, अहिले त्यो छैन ।’

बोली सुन्दा र छटछटी हेर्दा लाग्छ- उनीसँग भन्नलाई धेरै कुरा छ । तर बोल्दै जाँदा उनको लय बिग्रन्छ ।

बाढीमा परेर उनका १० र ८ वर्षकी छोरी समेत बेपत्ता छन् । ‘रहरले जन्माएको छोरा–छोरी हो,’ कविराज भन्छन्, ‘बाढीमा परेर दुई जना छोरी र एउटा छोरा गयो ।’

‘टनेलमा ड्यूटी पर्दा बाँचे’

बाढी आएको दिन कविराज त्रिशुली थ्री-बीको टनेल-२ मा काम गर्दै थिए । बिहान ७ बजे नै उनको टनेलभित्र छिरेको थियो । टोलीमा करीब ३५ जना थिए ।

टनेलभित्र भएकाले बाहिरको सूचनाबाट उनीहरू बेखबर थिए ।

‘कसरी बाहिर निस्कियौँ भन्ने कुरा अहिले पनि कल्पना गर्न सकिँदैन,’ कविराज सम्झिन्छन्, ‘हावाको प्रेसले हामीलाई बाहिर हुत्याइदियो ।’

अनि पो कविराजले थाहा पाए, भोटेकोशीमा प्रलय भएछ । जीवनमा कहिल्यै नदेखेको बाढी आएछ ।

कविराजको समूहमा १० जना थिए । विष्णु थापा मगर, सन्तोष घले लगायत अर्को समूहमा थिए । ‘त्यसदिन मेरो ड्यूटी टनेलमा पर्नु भाग्य भन्नु कि के भन्नु ?,’ कविराजले आफू बाँचेर पनि खुशी हुन नसक्ने परिस्थिति इंकित गरे ।

संयोगले आफू बाँचेको भन्दा पनि छोराछोरी हराएको घटनाले उनी बढी बिक्षिप्त छन् । कविराज कल्पना गर्छन्, ‘मेरो ड्यूटी बाहिरै भए म छोराछोरी बचाउन जान्थे होला, कि आफू पनि हराउथे होला ।’

कविराजका पत्नी र ठूली छोरी बाढीबाट जोगिएका छन् । घाँस लिन बस्ती बाहिर भएकीले पत्नी बाढीबाट जोगिएको उनी बताउँछन् । ठूली छोरी भने विद्यालय पुगेकीले जोगिइन् ।

अनलाइनखबरको टोलीसँग सोमबार उत्तरगयामा भेट हुँदा उनले छोराछोरीकै लागि आफूले गर्दै आएको दुःखहरू पनि सुनाए ।

‘पैसा कमाउनकै लागि साउदी अरब गए,’ कविराजले भने, ‘फर्किएपछि पनि परिवारका लागि केही गरौँ भनेर काम गर्न थालेको थिएँ ।’ उनका अनुसार साउदीमा ६ वर्ष काम गरेर फर्किए पछि घर नजिकै हाइड्रोपावरमा काम गर्न थालेका थिए । त्यही कमाएको पैसाले गुजारा चल्थ्यो ।

‘परिवारका लागि केही गरौँ, छोराछोरीको भविष्य राम्रो बनाऊँ भन्ने थियो,’ ३४ वर्षीय कविराजले भने । तर श्रीमती, ठूली र आफू बाहेक अरुलाई बाढीले बगायो ।

छोराछोरी हराउनुको पीडा लामै सुनाए, उनले । सँगै, सरकार र राजनीतिक दलहरुप्रति चर्को आक्रोश पोखे । उनलाई लाग्छ, यदि समयमै सूचना पाउन सकेको भए आफ्ना सन्तान बाँच्न सक्थे ।

तर उद्धारका लागि समेत सरकारी संयन्त्र पहेरेबेँसी नपुगेको उनी बताउँछन् । ‘सरकार भएको कुनै आभाश पाइएन । भोट हालेर जिताएका सांसदको मुख देख्न पाइएन,’ उनी भन्छन्, ‘दुःख परेको बेला साथ नदिने सरकार के काम ?’

उनी जस्तै आफन्त हराएका अरु मानिस पनि जोखिम बुझेरै कोशी किनारमा दिनदिनै पुग्ने गरेका छन् । तर उद्धारमा राज्यका कुनैपनि संयन्त्रले साथ नदिएको उनीहरू बताउँछन् ।

‘म एक्लै गएँ । प्रहरी, सशस्त्र, आर्मी कोही थिएन,’ कविराज भन्छन् । विशेषगरी नेपाली सेना र सशस्त्र प्रहरीप्रति उनको दुखेसो थियो । ‘सरकारले नेपाली सेनालाई किन पालेको हो ? सशस्त्र प्रहरी किन राखेको हो ?’ उनी आक्रोश पोख्छन्, ‘विपत्ति पर्दा हामी आफैं ज्यान जोगाउँदै हिँड्नुपर्ने हो भने सरकार कहाँ छ ?’

गाउँमा आएको राहतप्रति आफन्त हराएकाहरुको कुनै चासो छैन । ‘राहत आयो भनेर के गर्नु ? मेरो परिवार भेटिएको छैन,’ कविराज भन्छन् ।

पहेरेबेँसीमा बाढी आउनुअघि कविराजहरु जस्तै मजदुरी गरेर गुजारा चलाउनेहरुको बस्ती थियो । आँगनमा बालबालिका रमाउथे । दुःख गरेर भएपनि चुलोमा आगो बल्थ्यो ।

बस्तीमा भविष्यका कुरा हुन्थे । तर बाढीले बस्तीको रुप बदलिदियो ।

पहरेबेँसीमा अहिले घरहरूका भग्नावशेष मात्र छन् । स्थानीयका अनुसार, यो बस्तीबाट ४९ घर बगाएको छ । यो बस्तीमा चार सय बढी मानिसको बसोबास थियो ।

‘पहेरेबेँसीमा बस्ने धेरैजसोको घरबास छैन,’ कविराज भन्छन्, ‘हामीलाई गएर बस भने पनि कहाँ बस्ने ? खाने के, पकाउने भाँडो के ? ओढ्ने–ओछ्याउने के ?’

स्थानीयले संकलन गरेको विवरणअनुसार पहरेबेँसीका ५४ जना हराएका छन् । बाहिरबाट आएका मानिस समेत जोड्दा ७० नाघ्न सक्ने स्थानीयको अनुमान छ ।

बाढीबाट जिबित रहेकाहरुलाई माझगाउँस्थित भिमसेन आधारभूत विद्यालयको शिविरमा राखिएको छ ।

भिडियो-तस्वीरहरू: कमल प्रसाईं/अनलाइनखबर

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।