काठमाडौँ । बाँकेको नेपालगञ्ज–२१ बिर्ताका अरबी खाँको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न उनकी आमा राविया खाँले माग गरेकी छन्।
शनिबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले हत्यालगत्तै जाहेरी दिँदा पनि दोषीलाई उन्मुक्ति दिने नियतका साथ प्रहरीले दर्ता गर्न नमानगेको आरोप लगाएकी हुन् ।
छोराको हत्या भएको साढे दुई वर्ष बितिसक्दा पनि घट्नामा संलग्न मानिएका सदन भन्ने मेराज खानमाथि मुद्दा चलाउन जाहेरीसहित जिल्ला प्रहरी कार्यालय बाँके पुग्दा प्रहरीले जाहेरी नलिनु दुःखद भएको आमा रावियाको भनाइ छ। घटनास्थलमा रगतले लत्पतिएको अवस्थामा मेराज खानको सर्ट फेला परेको र सोही आधारमा जाहेरी लैजाँदा प्रहरीले प्रमाण नपुगेको दाबी गर्दै इन्कार गरेको उनले जनाइन्।
रावियाका अनुसार घट्नामा अप्जल पठानको संलग्नता देखिएको र उनी सम्पर्कमा नआएसम्म जाहेरी लिन नमिल्ने भन्दै प्रहरी पन्छिँदै आयो। भारतबाट दुई वर्षपछि अप्जललाई पक्रेर ल्याएपछि प्रहरीले उनको नाममा मात्र जाहेरी माग गर्यो। आफूहरूले मेराजको नाममा पनि जाहेरी दिन खोज्दा ठोस प्रमाण माग गरिएको उनले बताइन्।
मृतकका काका फज्लुर रहेमानले अरबीको निकै अमानवीय र विभत्स तरिकाले हत्या गरिएको भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरे। क्रूर हत्या गरिएको विषयमा प्रहरीले मेराजको नाममा जाहेरी नलिनुले प्रहरीमाथि नै गम्भीर आशङ्का उब्जिएको रहेमानले बताए।
२०८० चैतमा घट्ना भएको दुई वर्षपछि प्रहरीले आफ्नो मागअनुसार अप्जलको नाममा मात्र जाहेरी दिन बाध्य पारेर दर्ता गरेको र त्यसपछि उनलाई अदालत उपस्थित गराएको उनले जानकारी दिए। बाँके जिल्ला अदालतले अनुसन्धानका लागि पुर्पक्ष थुनामा पठाए पनि उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासले ठोस प्रमाण नपुगेको भन्दै धरौटीमा छाड्न आदेश दिएपछि थप पीडा भएको उनले व्यक्त गरे।
विगतको सरकारले न्याय नदिए पनि वर्तमान सरकारले न्याय दिने आशामा काठमाडौँसम्म आइपुगेको उनले बताए।



